Like us!
Follow us!
Connect us!
Watch us!

पशुपक्षी–बाली बीमा प्रभावकारी बनाइँदै

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १७ : ०४ मा प्रकाशित

पशुपक्षी–बाली बीमा प्रभावकारी बनाइँदै

अर्थ संसार, काठमाडौं- जिल्लामा कृषकका पशुपक्षी र बालीको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्राविधिकलाई सोसम्बन्धी बीमा अभिकर्ता प्रशिक्षण दिइएको छ ।

कृषकको पशुपक्षी तथा बालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय बीमा समितिको समन्वयमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तालीम आयोजना गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा मोगलप्रसाद शाहले बताए। उनले भने, “अभिकर्ता गाउँगाउँमा बीमाप्रति सचेतना कार्यक्रम गरी पशुपक्षी बीमा गराउने अभियान चलाउछन्  ।” प्रत्येक स्थानीय तहका दुई अभिकर्तालाई प्रशिक्षण दिइएको हो । स्थानीयस्तरका कृषकमा बीमा कार्यक्रमसम्बन्धी जानकारी नहुँदा पशुपालनमा व्यवसायीकरण हुन नसकेकाले काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा जिल्लास्थित पशु सेवाविज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले छुट्टाछुट्टै अभिकर्ता परिचालन गरी बीमा कार्यक्रम प्रभावकारी बनाइँदै लगिने योजना बनाइएको हो । भैँसी तथा गाईको जातअनुसार मूल्य निर्धारण समितिको सिफारिशमा कृषकले बीमित रकम पाउनेछन् ।

बीमा समितिले क्षतिको ७५ प्रतिशत रकम उपलब्ध गराउनेछ भने पशुपक्षी बीमितका सम्बन्धित कृषकले पाँच प्रतिशत प्रिमियम रकम राख्नुपर्ने हुन्छ । “कृषकको पाँच प्रतिशत प्रिमियमको पनि ७५ प्रतिशत रकम बीमा समितिले नै राखिदिन्छ”, डा शाहले भने । पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत उन्नत भैँसीको मूल्य करीब रु एक लाख ५० हजार र गाईको रु एक लाख २५ हजार मूल्य निर्धारण गरिन्छ । डा शाहका अनुसार पक्षीको पनि बीमा गर्न सकिन्छ । क्षति न्यूनीकरण गर्दै पशुपालनलाई निरन्तरता दिने उद्देश्यले सरकारद्वारा यसअघि नै पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । कृषकको बाली बीमा कार्यक्रममा पनि पशुपक्षीकै नियम लागू हुने जिल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत थर्क जिसीले बताए ।

कृषकलाई आलु तथा तरकारीको मापदण्ड बनाएर राहतस्वरुप बीमा रकम दिन सकिने नीति बनाइएको हो । जिसीका अनुसार प्राकृतिक प्रकोप, खडेरी तथा गलत बीउ परेर उत्पादन हुन नसकेको अवस्थामा बीमा रकम दिइनेछ । जिल्लामा गत चैतदेखि नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डद्वारा जिल्लामा नागरिक स्वास्थ्य बीमा कार्यक्रम पनि लागू गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत प्रतिपरिवार पाँच सदस्यसम्म वार्षिक रु दुई हजार ५०० प्रिमियम तिरेपछि वार्षिक रु ५० हजारको बीमा हुनेछ । पाँचभन्दा धेरै सदस्य भए प्रतिसदस्य रु ४२५ थप गर्नुपर्ने नीति बनाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा गरेका नागरिकलाई धुलिखेल सामुदायिक अस्पतालबाट सेवा दिइनेछ । उन्नत जातको बोका वितरण मासुमा आत्मभिर्नर बनाउने उद्देश्यले स्थानीय तहले उन्नत जातको बोका वितरण अभियान नै थालेका छन् । पनौती र पाँचखाल नगरपालिकाले प्रारम्भिक चरणमा कृषकलाई उन्नत जातको बोका वितरण गरेका हुन् । पनौतीले आज पाँच कृषकलाई ७५ प्रतिशत अनुदानमा पाँच बोयर क्रस जातको बोका वितरण गरेको हो । कृषकलाई व्यावसायिक बाख्रापालनतर्फ उन्मुख गर्न अनुदानमा पहिलो चरणमा उन्नत जातको बाख्रा वितरण गरिएको नगर प्रमुख भीम न्यौपानेले बताए । उनले भने, “मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातको बोका वितरण गरेका हौँ, यसको नश्लबाट अपेक्षित लाभ भए अन्य व्यावसायिक कृषकलाई पनि वितरण गर्नेछौँ ।” छोटो समयमा बढ्ने भएकाले बोयर क्रस जातको बोका प्यूठानको भुर्कुटी भन्ने स्थानबाट ल्याई वितरण गरिएको नगरपालिका पशुपक्षी शाखा प्रमुख चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार कृषकलाई वितरित बोकाको बीमा तथा औषधोपचार नगरपालिका कार्यालयले गर्नेछ ।

राम्रो खानपान दिनुपर्ने उक्त जातको बोका प्रतिगोटा रु ४० देखि एक लाख ५० हजारसम्म खरीद बिक्री हुँदै आएको छ । पाँचखालको शतप्रतिशत अनुदानमा काफ्लेडिहीस्थित प्रतिष्ठा सहकारीले यही साता आफ्ना सदस्यको सेवाका लागि छ कृषकलाई बोयर जातको बोका वितरण गरेको छ । नगर प्रमुख महेश खरेलले नगरलाई मासुमा आत्मनर्भर बनाउन सबै वडाका बस्तीमा क्रमैसँग बोयर जातको बोका वितरण गरिने बताए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको