हरेक नेपालीको घरमा हुने धेरै बस्तुमध्ये एक हो कुचो । नेपाली समाजमा कुचोको महत्व परापूर्व काल देखिनै थियो । अहिले पनि बडार्नका लागि कुचो आवश्यक छ । नेपालमा आवश्यक पर्ने कुचोको माग धानेर नेपालबाट बार्षिक रुपमा अर्बौको कुचोको निर्याता हुने गरेको छ । तिहारको बेला कुचोको माग केही बढी हुने गरे पनि कुचो जहिले पनि आवश्यक पर्ने बस्तु हो । नेपालमा कुचो व्यवसायको अवस्था के छ ? विदेश निर्यातको अवस्था के छ ? भन्ने विषय नेपाल कुचोसंघका अध्यक्ष राजकुमार कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :
अहिले नेपालमा कुचो व्यवसायको अवस्था के छ ?
अन्य व्यवसायको तुलनामा कुचोको व्यवसाय राम्रै छ । हाम्रो नेपाली बजार पछि विदेशको बजार भनेको भारतीय बजार हो । भारतमा नै उत्दान भएकाले नेपालबाट भारत तर्फ कुचो कम गयो भने मूल्य पनि केही कम भएको अवस्था छ । आन्तरिक रुपमा भने कुचोको माग र व्यवसाय राम्रै रहेको छ ।
नेपालमा लक्ष्मी पुजा र धनतेरशकमा कुचोको पुजा पनि गरिन्छ । संघले पनि यसलाई प्रचार प्रसारमा काम गरेकाले आन्तरिक रुपमा पनि बजार राम्रो भएको अवस्था छ ।
धेरै वस्तुहरु हामीहरु विदेशबाट आयात गरेर माग धान्नुपर्ने अवस्थामा छौँ । कुचोमा नेपाल आत्मनिभर बन्न सकेको छ ?
हामी कुचोका पूर्ण रुपमा आत्मनिर्भर बनेको अवस्था छ । त्यति मात्रै होइन हामी आन्तरिक माग पुरा गरेर विदेश निर्यात समेत गर्दै आएका छौँ । बार्षिक रुपमा अर्बौँको कुचो विदेश निर्यात हुन्छ । नेपालमा पनि सोही हाराहारीमा कुचोको व्यपार हुन्छ ।
वार्षिक कति मूल्य बराबरको कुचोको व्यापार हुन्छ ? नेपालमा मात्रै हो कि विदेशमा पनि निर्यात गछौँ ?
बार्षिक रुपमा अर्बौको आन्तरिक र अर्बौँको विदेशमा व्यवसाय हुने गरेको छ । यसरी हेर्दा कुचो आन्तरिक खपतमा माग पुरा गरेर विदेशी मुद्रा आर्जनको राम्रो स्रोतका रुपमा रहेको छ । यो हाम्रो आफ्नो मौलिक उत्पादन पनि हो । जसले गर्दा यसमा सबै हाम्रो मौलिक चिज नै प्रयोग हुन्छ ।
कुचोको मुख्य विदेशी बजार भनेको भारत हो । अहिले भारतका विभिन्न ठाउँमा अम्लिसो लगाएर कुचो उत्पादन गरिएकाले हाम्रो व्यवसायमा केही असर गरेको छ । भारतले उत्पादन गरेपछि हामीले अर्को बजार खोज्नु पर्ने अवस्था छ । हाम्रो लागि वैकल्पीक बजारका रुपमा बंगलादेश रहेको छ । तर, त्यहाँको कर बढी भएकाले पनि केही समस्या भएको छ । राज्यले त्यसलाई केही छुट गर्न सकेमा हाम्रो उत्पादन बंगलादेशसम्म पनि निर्यात हुन्छ । भारतमा मात्रै निर्भर हुँदा त्यहाँ उत्पादन भएको बेला हामीहरुको वस्तुले बजार नपाउने भएकाले अन्य बजार खोज्नु पर्ने आवश्यकता छ ।
कुचोको कच्चा पदार्थ के हो ? यसबाट फाइदा लिनका लागि के गर्नु पर्छ ?
कुचोको किसानसँग जोडिएको विषय हो । कुचोको कच्चा पदार्थ भनेको अम्लिसो हो । परापुरर्व कालदेखि नै यो अम्लिसो घाँसका रुपमा प्रयोग हुने गरेको थियो । पशुपालनका लागि यो निकै महत्वपूर्ण घाँस हो । त्यसै घाँसको फूलबाट कुचो निर्माण गरेर निर्यात गर्ने गरिएको हो ।
अम्लिसो बहु उपयोगि बनस्पति हो । पशुपालनका लागि घाँसका रुपमा प्रयोग गर्न सकिन्छ । यो बनस्पतिले पुक्षय रोकथाममा पनि सहयोग गर्छ । फूलबाट कुचो पनि निर्माण गरेर आम्दानी गर्न सकिन्छ । यो व्यवसायलाई सरकारले ध्यान दिएको खण्डमा अझै राम्रो गर्न सकिन्छ । सरकारको ध्यान यो व्यवसाय तिर जान सकेको छैन । आन्तरिक माग पुरा गरेर विदेशमा निर्यात गरेर आम्दानी गर्नका लागि राज्यका नीतिहरु सहज हुनु पर्ने हुन्छ ।
कुचोको कच्चा पदार्थका रुपमा रहेको अम्लिसोको खेती नेपालको कुन क्षेत्रमा हुन्छ ?
अम्लिसोको खेती पूर्वी नेपालका जिल्लाहरुमा बढी मात्रामा भएको छ । तर यसका लागि हिउ नपर्ने पहाडी भूभाग उपयुक्त भएकाले नेपालको पूर्व देखि पश्चिमसम्मको पहाडी भूभागमा यसको खेती गर्न सकिन्छ । खासमा अहिले पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर लगायतका जिल्लामा व्यवसायी खेती भइरहेको छ । यता दोलखा, काभ्रे, सुन्धुपाल्चोकमा पनि खेती भइरहेको छ । पश्चिममा पाल्लासम्म पनि यसको खेती भइरहेको छ ।
अम्लिसो खेती गर्नका लागि किन पनि आवश्यक छ भने पशुहरुका लागि निकै पौष्टिक घाँस हो । यसले गर्दा किसानसँग यसको निकै घनिष्ट सम्बन्ध छ । पर्यटकी स्थलमा पनि लगाउन सकिन्छ । किसानलाई उत्पादनमा जोडेर बजारको पनि खोजि गर्नु पर्ने आवश्यकता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस