Like us!
Follow us!
Connect us!
Watch us!

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा : बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा

रबिन दङगाल

मंगलबार, ०७ साउन २०७६, १२ : ०४ मा प्रकाशित

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा : बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा

अर्थ संसार, पर्वत- पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो । 

स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन् । स्वास्थ्य केन्द्रले स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिए । सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँ आउने गरेका छन् । 

लामो समयदेखि नसाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका तनहुँ ब्यास नगरपालिकाका ४० वर्षीय रमेश सिग्देल सेन्टरमा उपचार सेवा लिएपछि निको भएको बताउछन् । “पहिले नसाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो ।” उनले भने, “विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरौ, अहिले निको भएको छ ।” उनले हाल विदेशी डाक्टरको सल्लाहमा घाँटीको नसाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताए ।

उनीजस्तै थुप्रै बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीँबाट सेवा दिने गरेको छ । 

केन्द्रमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताए । उनका अनुसार टेलिमेडिसिन सेवाअन्तर्गत एकै महीनामा तीन हजार १०० बिरामीले सेवा लिएको तथ्याङ्कसमेत छ ।

बेलायतमा रहेका नेपालीको सङ्घठन चार भञ्ज्याङ तमु समाज युकेको पहलमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथमिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवा दिनका लागि सेन्टरको स्थापना गरिएको थियो । यस केन्द्रमा टेलिमेडिसिन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विशेषज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजना गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको