अर्थ संसार, काठमाडौँ- आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ ।
सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्ये । 
कतारको जीतमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२, जाहिर इब्राहिमले १२ तथा मुहमद तानभिरले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । 
पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे तापनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान खड्काले व्यक्तिगत २८ बनाउँदा उपकप्तान मल्लले २३ रन जोडे । 
यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले दुई÷दुई विकेट लिए । त्यस्तै इनवाल हुसेनको नाममा एक विकेट रह्यो ।
अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । यसखेलसँगै दुई खेल खेलेको कतारको यो पहिलो जीत हो । हिजो भएको पहिलो खेलमा कतार सिङ्गापुरसँग ३३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस