Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, २१ : २७ मा प्रकाशित

काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा सहकार्यमा सामुदायिक विद्यालयमा कार्यरत ५३ जना शिक्षक–शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान गरेको छ। असार २ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको ६३१औँ बीटीसी (बेसिक ट्रेनिङ कोर्स) र ४६७औँ पीटीसी (प्राइमरी ट्रेनिङ कोर्स) नेपाल स्काउट अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनीमा सम्पन्न भएको हो।

तालिम नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रबिन दाहाल र राष्ट्रिय प्रशिक्षक अनिता मानन्धरको नेतृत्वमा सञ्चालन गरिएको थियो। तालिममा नेपाल स्काउटका पूर्व पदाधिकारी तथा राष्ट्रियस्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए।

काठमाडौं महानगर स्काउटका प्रमुख आयुक्त रञ्जनलाल श्रेष्ठको सक्रियता र शैक्षिक पद्धति आयुक्त मुना लामाको संयोजकत्वमा सम्पन्न तालिमले शिक्षकहरूमा नेतृत्व क्षमता, अनुशासन, सेवाभाव तथा स्काउटिङका मूल्य–मान्यताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

समापन कार्यक्रममा कोर्स लिडर दाहालले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जिम्मेवार, अनुशासित र चरित्रवान नागरिकका रूपमा विकास गर्न स्काउटिङको महत्वपूर्ण भूमिका रहने बताए। उनले यस्ता तालिमले गुणस्तरीय शिक्षासँगै सकारात्मक सामाजिक रूपान्तरणमा समेत टेवा पुग्ने अपेक्षा व्यक्त गरे।

दाहालले तालिम सफल बनाउन सहयोग पुर्‍याउने काठमाडौं महानगरपालिका, नेपाल स्काउट तथा सहभागी शिक्षक–शिक्षिकाप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको