अर्थ संसार
काठमाडौं–नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनको अभाव भइरहने गरेकाले आवश्यकता अनुसार निजी क्षेत्रलाई आयात गर्न दिन माग गरेको छ ।
महासंघले मुलुकको निर्यात, व्यापारमा आभुषण क्षेत्रले दिन सक्ने योगदानलाई मध्य नजर गर्दै निर्यात प्रयोजनका लागि सरल र सहज तरीकाले सुन उपलब्ध गराउने वा निर्यातकर्ता स्वयंले आफूलाई आवश्यक पर्ने सुन आयात गर्न पाउनु पर्ने माग सरकारसँग गरेको छ ।
महासँघका अध्यक्ष रमेश महर्जन र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आपूर्ती मन्त्री दीपक बोहोरासँग भेटेर ‘बहुमूल्य गहनाको उत्पादन, कारोवार तथा अनुगमन निर्देशिका–२०७३’ जारी गर्ने सम्वन्धमा तयार गरिएको सुझाव प्रतिवेदन बुझाउँदै उक्त माग गरेको हो ।
आपूर्ति मंत्रालयले उक्त निर्देशिकाको मस्यौदा तयार गरी सुझावका लागि महासंघहरुमा पठाएको थियो । मस्यौदामाथि मुलुकभरका गहना व्यवसायीहरुका संस्थागत प्रतिनिधिहरुको राय सुझावसमेत गर्न सुझाव प्रतिवेदन मंगलबार मंत्रालयमा बुझाएको हो । सुझावमा गुणस्तरको प्रत्याभूतिका लागि राज्य र निजी क्षेत्रको सह–लगानीमा हल मार्किङ्ग सेन्टरहरु स्थापना हुनु पर्नेमा जोड दिइएको छ ।
आम उपभोक्ता, व्यावसायी एवं राज्य तीनै पक्षको हितलाई ध्यानमा राखी तयार गरिएको प्रतिवेदनमा मूल्य, नाप तौल, गुणस्तर आदिका साथै ज्याला, जर्ती, रसायनलगायतका विषयमा स्पष्ट रुपमा परिभाषिक गरिएको छ । अनुगमनमा गहना व्यवसायीका प्रतिनिधि संघ, महासंघलाई समेत सहभागी गराउनु पर्ने सुझाव दिइएको छ ।
सुझाव प्रतिवेदन ग्रहण गर्दै मंत्री वोहोराले अध्ययन गरी अविलम्व निर्देशिका जारी गर्ने तयारी भइरहेको उल्लेख गरे । उनले आमउपभोक्ताको हितलाई सुरक्षित राख्दै गहना व्यवसायको प्रवद्र्धनका लागि सरकारले उचित ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस