अर्थ संसार, चितवन- धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । 
सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पुर्याउने जानकारी दिए । यसअघि नै सङ्घले रङ्गशालाका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका थिए  । 
यसैगरी रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरेका थिए  । 
सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्दन थालेकाले आफू उत्साहित भएको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्नेक्रम शुरु भएकाले  सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरे । 
जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम शुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा सो  रङ्गशाला निर्माण गर्न लागिएको हो । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस