अर्थ संसार, काठमाडौ – अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रम अन्तर्गत थप स्याउ लगाए । अहिले उहाँको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन् ।
सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ । नजीकको बजार खण्डेश्वरी हो । अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ ।
अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन । अस्थायी रुपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ । गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु ४० भाडा पर्छ । सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको अध्यक्ष धामी बताउनुहुन्छ ।
सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन । अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ । यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना मार्फत समेत स्याउ खेती गरिएको छ । अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको उहाँले बताउनुभयो ।
स्याउ सुपर जोन कार्यक्रम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका धामीलाई यो वर्ष उत्पादन भएको स्याउ बिक्री गर्न धौधौ छ । स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालीम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन् ।
अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो रु १५० मा बिक्री हुन्छ । सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन ।
मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५०० ओटा स्याउका बोट छन् । दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ । विसं २०६७ देखि स्याउ खेती शुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको छ । उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उहाँ निराश हुनुहुन्छ ।
स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
व्यासको छाङ्गरुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले एक हजारभन्दा बढी स्याउ व्यासमा फलाएका छन् । व्याससम्म नेपालतिर घोरेटो बाटोसमेत छैन् ।
मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ । उहाँले केही स्याउ भारतीय सुरक्षाकर्मीलाई रु ८० भारतीयमा बिक्री गर्ने गरे पनि बाँकी स्याउ फाल्ने गरेका छन् । स्याउबाट मदिरा तथा बाँकी स्याउ त्यतिकै सडाएर फाल्नुपर्ने अवस्था रहेको उहाँ गुनासो गर्नुहुन्छ ।
गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो । गत वर्ष कार्यक्रमअन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो ।
गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २०० र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७०० स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिनुभयो । गत वर्षको कार्यक्रममार्फत जिल्लाका ४४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ ।
चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कूल रु एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ । “स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ”, कार्यालय प्रमुख ओझाले भन्नुभयो, “स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस