Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले गर्यो पुँजी बजार सुधारका र विकासका लागि पहल

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, ११ : ३० मा प्रकाशित

धितोपत्र बोर्डले गर्यो  पुँजी बजार सुधारका र विकासका लागि पहल

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सुधार तथा विकासका लागिअगाडी बढेको सार्वजनिक पहल गरेको छ। 

बोर्डले पुँजी बजार सुधारका लागि चालु आर्थिक वर्षको बजेट, आवधिक योजनालगायत विभिन्न सरोकारवालाहरुको सुझावका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको बताएको हो । 

बोर्डले धितोपत्र बजारको सुधार, विकास तथा विस्तारका लागि देहाय बमोजिमका काम-कारवाहीहरु अगाडी बढाइएको जनाएको छ।

  •  धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को संशोधन पारित गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको छ।

  •  हाल बैंकको प्रवद्र्धनमा मात्र सामूहिक लगानी कोष सञ्चालनमा रहेकोमा यस क्षेत्रमा बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित कम्पनीहरूलाई समेत प्रवेश गराउने प्रकृया अगाडी बढाइएको छ।

  •  धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरीदमा मार्जिन कारोबारको व्यवस्था गरिएको छ। लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेका छन्।

  •  धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लगिएको छ र आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिनेछ।

  •  हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म बढी आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को संशोधन पारित गरी संशोधन प्रकृया अगाडी बढाइएको छ।  नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गत रहेको नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) को पुर्नसंरचना गर्ने रणनीति अनुरूप हाल नेप्सेमा रहेको नेपाल राष्ट्र बैंकको शेयर विनिवेश गर्ने कार्य अगाडि बढिरहेको छ। यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

  •  धितोपत्र बजारमा लगानीकर्ताहरुको सहभागिता बढाउँदै लैजान देशका विभिन्न स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियोमार्फत् पूँजी बजारसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ।

  •  भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको छ। उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सो को अध्ययन भैरहेको छ।

  •  धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न भित्री कारोबार निषेधसम्बन्धी नियमावली, २०७६ बोर्डबाट पारित गरी उक्त नियमावली स्वीकृतिको चरणमा रहेको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको