Like us!
Follow us!
Connect us!
Watch us!

छोरी जन्मे २० वर्षसम्म मासिक ५ सय भत्ता

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १५ : २० मा प्रकाशित

छोरी जन्मे २० वर्षसम्म मासिक ५ सय भत्ता

अर्थ संसार,काठमाडौं – कर्णालीमा 'बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सुरु भएकाे छ । प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुवात आज कालीकोट जिल्लाबाट शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार आजबाट उक्त कामकाे थालनी गरेकाे हाे । खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोली कार्यक्रम शुरु गरिएको हो ।

 यही साउन २३ गते जन्मिएकी जानकी परियार र असोज ९ गते जन्मिएकी जमुना सुनारको बैंक खाता खोलिने मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । कार्यक्रम प्रदेशका १० वटै जिल्लामा लागू गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिमा २०७६ साउन १ गते वा त्यसयता जन्मिएका छोरीलाई यस कार्यक्रममा आबद्ध गराइने उल्लेख गरिएकाे छ । बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् ।

आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित सङ्घसंस्था वा संरक्षकले छोरीको खाता खोलिदिनुपर्ने गरी कार्यविधि बनाइएको छ ।  एक दम्पतीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र यो सुविधा उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने सङ्ख्याको सीमा राखिएको छैन ।

कर्णाली प्रदेशमा छोरीहरुमाथि हुने असमान व्यवहार हटाउन कार्यक्रम प्रभावकारी हुने कर्णाली सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले बताएका छन् ।

“सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी कर्णाली प्रदेशअन्तर्गत स्थानीय तहमा शाखा कार्यालय रहेको वाणिज्य बैंक वा स्थानीय तहले बैंकिङ कारोवार गरिरहेको बैंकमा सिफारिस गर्नुपर्छ”, उनले भने, “नियमअनुसार बैंकले खाता खोलेपछि स्थानीय तह र ग्राहक दुवैलाई जानकारी गराउनुपर्नेछ ।”

कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आ.व मा ७ करोड विनियोजन गरेको छ । 

छोरीको खातामा प्रदेश सरकारले शुरुमै एक हजार बचत गर्नेछ । त्यसपछि हरेक महिना ५०० का दरले उक्त छोरीको २० वर्ष उमेरसम्म प्रदेश सरकार आफैँले रकम बचत गरिदिनेछ ।

सरकारले याे कार्यक्रमले छोरीमाथिको विभेद, बालविवाह अन्त्य तथा छोरीको शिक्षादीक्षामा मद्दत पुग्ने अपेक्षा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको