Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार गर्नेलाई कानुन लाग्दैन तर अधिकार माग्दा गोली ठोकिन्छ, यो कस्ताे अन्याय ? : थारू समुदाय

निशा हुमाँगाई

आइतबार, २७ पुस २०७६, १६ : ३७ मा प्रकाशित

भ्रष्टाचार गर्नेलाई कानुन लाग्दैन तर अधिकार माग्दा गोली ठोकिन्छ, यो कस्ताे अन्याय ? : थारू समुदाय

अर्थ संसार, काठमाडौं –  थारू समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रूपमा बिदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारू कल्याणकारिणी सभाले पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र सार्वजनिक बिदा दिन माग गरेको हो । 

काठमाडौंको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारू समुदायले नयाँ वर्षको रूपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।

उनले भने,‘थारूको सबैभन्दा ठुलो चाड एवं नयाँ वर्ष पनि हो । माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएकोमा गत वर्षबाट बिदा कटौती गरिएको छ । दुई दिनको सार्वजनिक बिदा दिनुपर्ने थारू समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारू समुदाय माथि उपहास गरेको महसूस भएको छ । त्यसप्रति थारू  समुदायकाे घोर आपत्ति छ ।’

यस्तै थारू कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारूहरूको आवाज सरकारले सुन्दै नसुनेकाले थारूको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रूपमा मनाउनु पर्नेमा जोड दिए । उनले भने,‘राज्यले थारूमाथि टीकापुर घटनापछि झनै कुदृष्टिले हेर्दै आएको छ । सोझा थारूमाथि राजबन्दीको आरोप लगाउँदै जेलमा हालेको छ । माननीय रेशम चौधरीलाई माननीयको प्रमाण पत्र र सपथ खुवाएर आवाज थुनिएको छ । यसले एउटै देशमा दुई प्रकारको कानुन भएको भान हुन्छ ।' 

उनले राज्यले एकै जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारूमाथि चरम विभेद भएको आरोप समेत लगाए । उनले भने,‘देशमा भ्रष्टाचार गर्ने, सरकारी सुविधा जग्गा हड्पनेहरू खुलेआम हिँड्दा कुनै कानुन लाग्दैन तर थारूहरूले अधिकार माग्दा गोली ठोकिन्छ । यो अन्याय र अत्याचार कहिलेसम्म रहन्छ ? मिडियाका साथीहरूले अब हाम्रो आवाज सबैलाई सुनाइदिनु पर्याे ।’
यस्तै थारू विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरूको व्यवस्थापन गरिएको जानकारी दिए ।  यस्तै, उनले स्टलहरू व्यवस्थापन र बुकिङ भइसकेकाले आफ्नो स्टल बुकिङ गर्नसमेत अनुरोध गरे । 

कार्यक्रममा थारू कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारू महिला समाजकी सचिव अनिता चौधरी, थारू महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरूले पनि उक्त पर्वको दिन राष्ट्रिय बिदा दिन माग गरेका थिए । हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता (साग) मा विजेता भएका थारू समूदायका खेलाडीहरूलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ । 

जारी विज्ञप्तीमा भनिएको छ,‘थारू समुदायले माघी पर्वलाई ठाउँ अनुसार फरक फरक नामले समेत मनाउदै आएका छन् । पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा माघ भनेर मनाउने चलन छ भने मध्य तराई जिल्ला रूपन्देही, कपिलबस्तु र नवलपरासीमा खिचरी र चितवनमा खिचरा मनाउने गरिन्छ । त्यस्तै पुर्वमा तिलासंक्राईत नामले माघ १ गतेलाई थारू समुदायले हर्सोउल्लासका साथ मनाउँछन् ।’ 

‘पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्ने यो पर्वको अर्को महत्व हो । बर्षभरिको दुःख सुख एक–आपसमा साटासाट गर्ने, मिठो मसिनो खाएर माघी पर्वलाई हर्षोउल्लासका साथ मनाईन्छ । माघी मकरसंक्रान्तिको दिन पर्ने भएकोले पनि यसलाई महत्वपुर्ण पर्वको रूपमा लिने गरिन्छ ।’–विज्ञप्तीमा भनिएको छ ।

पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी ) महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान ८ बजे तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता,जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ । 

माघ १ गते झाँकी र्यालीप्रर्दशन थारू संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी र्यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुनेपनि आयोजकले जानकारी दिएको छ । 

त्यस्तै महोत्सवमा २ सय वटा स्टल रहने छ । जसमा थारू परिकारहरूको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न समाग्रिको स्टल, थारू समुदायको ईतिहास बोकेका समाग्रीका साथै पुस्तक प्रदर्शनी समेत राखिने छ । 

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहने महोत्सवमा थारू समुदायको कलासंस्कृति झल्किने नाचगान पनि महोत्सवको आकर्षक रहने छ  भने नेपाल थारू पत्रकार संघले प्रचारप्रसारको जिम्मा लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको