अर्थ संसार, काठमाडौं - मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरण अनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ ।
भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर, सर्लाही, सती (कैलाली), सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी भन्सारलगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको विभागले जनाएको छ ।
विभागको विवरण अनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा रु २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । सो भन्सारबाट कूल २८.४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट रु १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको छ ।
त्यस्तै तेस्रोमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । सो भन्सारबाट रु १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१.७० प्रतिशत निर्यात भएको छ । चालू आवको सात महिनामा कूल रु आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा रु ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ ।
विभागको विवरण अनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट रु दुई खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल सामान आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा ३४.३१ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयबाट मात्रै रु एक खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कूल आयातको १७.०९ प्रतिशत हो ।
यस्तै, वीरगञ्ज सुक्खा बन्दरगाहबाट रु एक खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट रु ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट रु ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कूल आयातमध्ये १०.१४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ ।
विभागका अनुसार रसुवा भन्सारबाट रु २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट रु ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट रु १२ अर्ब २६ करोड २४ लाख छ हजार, कैलाली भन्सारबाट रु १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ । चाल्ू आवको सात महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा भने रु सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस