Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट फर्किएका व्यक्तिकाे नमूना सङ्कलन शुरु

निशा हुमाँगाई

मंगलबार, १८ चैत्र २०७६, ११ : ०३ मा प्रकाशित

विदेशबाट फर्किएका व्यक्तिकाे नमूना सङ्कलन शुरु

अर्थ संसार, काठमाडौं - भक्तपुरका नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल १४६ जनाको पहिचान भएसंगै उनीहरुको नमूना सङ्कलन गर्न शुरु भएको हो ।

लगत सङ्कलन गर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएका ४१ जनाको पहिचान गरि स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर ट्राभल हिस्ट्री लिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षण गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् । विदेशबाट फर्किएकामध्ये शङ्कास्पद पाँच जनाको स्वाब सङ्कलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको तर रिर्पोट आउँन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, सूर्यविनायक नगरपालिकाले विदेशबाट फर्किएका ७१ जनाको पहिचान गरेको छ । सूर्यविनायकमा दुईसाता यता अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, मेलेसिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साईप्रस, इण्डोनेसिया, मकाऊबाट फर्किएका २१ महिला र ५० पुरुष गरी कूल ७१ जनाको वडागत लगत सङ्कलन गरी घर भित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिएका छन् । उनले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घर भित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताए ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा विदेशबाट फर्किएका १७ जनाको पहिचान गरेको र लगत सङ्कलन गर्ने कार्य जारी रहेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जानकारी दिएका छन् । भक्तपुर नगरपालिकाले अहिलेसम्म १७ जनाको लगत सङ्कलन गरेको र यो कार्य जारी छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले विदेशबाट फर्किएकाको स्थानीय तहमार्फत लगत सङ्कलन गर्ने क्रम जारी रहेको बताउँदै उनीहरु सबैलाई होम क्वारेन्टाइनमा स्वास्थ्य एवं सुरक्षा निगरानीमा राखिएको जानकारी दिए । पहिचान भएका होम क्वारेन्टाइनमा नबसे तत्कालै पक्राऊ गरिने जानकारी दिँदै उनले स्वास्थ्यमा समस्या आएमा तत्काल स्थानीय तह वा सुरक्षाकर्मीलाई जानकारी गराउने र अस्पताल पठाउने व्यवस्था मिलाइएको बताएका छन्।

 विदेशबाट नेपाल फर्किएकाहरुमा कोभिड–१९ को सङ्क्रमण पुष्टि हुन थालेपछि भक्तपुरका चारैवटै स्थानीय तह र सुरक्षा निकायले लगत सङ्कलन एवं निगरानी बढाएको हो ।

१९ जनाको स्वाब सङ्कलन, ११ को नेगेटिभ

यसैबीच विदेशबाट आएकाहरुको भक्तपुुर अस्पतालमार्फत धमाधम स्वाब परीक्षण गर्न शुरु भएको छ । स्थानीय तहको निर्देशनपछि भक्तपुर अस्पतालमा विदेशबाट फर्किएकाको स्वाब सङ्कलन शुरु भएको छ ।

भक्तपुर अस्पतालकी सुपरिटेण्डन डा. सुमित्रा गौतमले सोमबारसम्म १९ जनाको स्वाब सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिएका छन् । त्यसमध्येमा आइसोलेशनमा भर्ना भएका चारसहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको र आठको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन् ।

भक्तपुर अस्पतालमा दुईवटा आइसोलेशन वार्ड बनाए पनि त्यो वार्ड भरिरहने भएपछि अस्पतालले मेडिकल वार्डलाई थप १० शय्याको आइसोलेशन बनाउने भएको छ । प्राइभेट अस्पतालले आइसोलेशन वार्ड तयार पारेका छौ भनेपनि अहिलेसम्म कोरोना शङ्कास्पद विरामीको परीक्षण एवं भर्ना नगरेपछि भक्तपुर अस्पतालमा शङ्कास्पद बिरामीको चाप बढ्न थालेको हो । कोरोना भाइरसको सङ्क्रमणको सम्भावनालाई लक्षित गरी भक्तपुरका नौ अस्पतालमा ३१ शय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेका छन् । भक्तपुर अस्पतालमा दुई, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ६, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मध्यपुर, डा. इवामुरा मेमोरियल, भक्तपुर क्यान्सर र काठमाडौं मेडिकल कलेजमा ४-४ शय्या तथा नागरिक र सिद्धिस्मृति अस्पतालमा २-२ शय्याका आइसोलेशन वार्ड तयार गरिएको छ ।

निःशुल्क खाद्यान्न वितरण गर्ने

प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण विश्व सङ्कटको भूमरीमा परेको र नेपालमा पनि सङ्क्रमण देखिएकाले सबै संयमित भएर कोरोना फैलिनबाट रोक्नु पर्ने बताएका छन् ।

सूर्यविनायक नगरपालिकामा सोमबार बसेको आकस्मिक बैठकमा पछि बोल्दै उनले सरकारले देशभर खाद्यान्न र अत्यावश्यक बस्तुको अभाव हुन नदिने बताएका छन् । कोरोनाको महामारी रोक्न सरकारले चालेको सकारात्मक कदम र जनताको साथ देखेर आत्तिएका भ्रष्ट र विरोधीहरु फेरी जुर्मुराउन थालेको बताउँदै उनले यस्ता तत्वको खेलले सरकार नडग्मगाउने उल्लेख गरेका छन् । खाद्यान्न, औषधि लगायत कुनै पनि अत्यावश्यक बस्तुको अभाव हुन नदिने र सरकारले स्थानीय तहलाई परिचालन गरेरै भएपनि कसैले भोकै बस्नु पर्ने अवस्था नआउने उनको भनाइ थियो ।

त्यसैगरी कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका क्रममा सूर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिने भएको छ । सरकारले कोभिड— १९ को सङ्क्रमण रोकथामका लागि गरेको लकडाउन अवधिमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नगरपालिकाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय आपूर्ति अनुगमन समिति गठन गरेको छ ।

समितिले वडास्तरमा प्रत्येक घरधुरीको लगत सङ्कलन गर्ने, खाद्य सामग्री तथा अत्यावश्यक सामग्रीको परिमाण पहिचान गर्ने, खाद्य सामग्रीका पसल र स्टक सामानहरुको लगत सङ्कलन गर्ने, सुरक्षा निकायको सहयोगमा खाद्य सामग्री उपलब्ध गराउन आवश्यक समन्वय र आपूर्ति अनुगमन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिएका छन् ।

त्यसैगरी, नगरपालिकाले सामाजिक सङ्घसंस्थाको सहयोगमा नगरस्तरमा एकद्वार प्रणालीबाट निःशुल्क खाद्य सामाग्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिका संयोजक ज्ञवालीले पसलमा खाद्य सामग्री नपुग भएमा नगरपालिकामा प्रतिवेदन पेश गरी जानकारी गराउने, खाद्य पसलमा सुरक्षा सतर्कता अपनाई निश्चित समयमा मात्र सञ्चालन गर्ने, प्रत्येक वडाका विपन्न तथा दैनिक ज्यालादारी मजदूरको पहिचान गरी घरदैलो मै पुगेर कम्तीमा १५ दिनका लागि खाद्यान्न सामग्री निःशुल्क वितरण गरिने जानकारी दिएका छन् ।

नगरस्तरीय विपद् व्यवस्थापन कोषलाई कोभिड— १९ नियन्त्रणका लागि परिचालन गर्ने, कोरोनाको लक्षण भएकालाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था गर्ने, लकडाउनको पूर्ण पालना गराउने र सङ्क्रमण फैलिनलाई रोक्ने नीति अवलम्बन गरेको छ । आवश्यक सहयोगका लागि नगरपालिकाले ४६ जनप्रतिनिधिको नाम र सम्पर्क नम्बरसमेत सार्वजनिक गर्दै जनआव्हान गरेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको