Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाबाट गाउँको दशैं सम्झँदा

अर्थ संसार

आइतबार, २३ असोज २०७३, १३ : ५५ मा प्रकाशित

अमेरिकाबाट गाउँको दशैं सम्झँदा

तारा भट्टराई

दशैंताका मेरो जन्मस्थल पाँचथरको मेमेंङ्गमा खेतभरि धानका बाला लहलह झुल्थे। बगैंचामा सयपत्री मखमली फूलका कोपिलाहरु तँछाडमछाड गरेर फक्रनलाई तम्तयार भएर बसेका हुन्थे। आकाशको कालो मडारिने बादल पनि भुवाजस्तो सेतो निर्मल भईसकेको हुन्थ्यो । वरिपरिका पहाडका टाकुराहरुले बादललाई जबरजस्ती लुकाएर राख्थे। न गर्मी न जाडो ठिक्कको न्यानो मौसम, साँझमा टहटह जुन लागेपछि त्यसै उफ्रौंउफ्रौं, नाचुँनाचुँ लाग्ने अनि घरमा विभिन्न परिकार पाक्ने । जतिबेला पनि रोजीछाडी खाईरहन पाईने। घरनजिकैको चौतारोबाट तल भन्ज्याङमा हेर्दा कम्मरमा खुकुरि भिरेका र पछाडी कोटको कल्लरमा छाता झुण्ड्याएका मानिसहरुको बाक्लो आवतजावत हुन्थ्यो। 

सोह्रश्राद्ध सकिने वितिक्कै गाउँका मानिसहरु लहरै डोको नाम्लो बोकेर रातो माटो र कमेरो (सेतो माटो) खन्न जान्थे। ढिकीमा चिउरा कुट्ने, घर लिपपोत गरेर चोख्याउने, अनावश्क उम्रेका झारहरु उखाल्ने , बर्षा याममा पहिरोले पुरिएका बाटाहरु खन्ने, खोला खोल्सामा काठका पुल मर्मत सम्भार गर्ने कामको चटारो एकैपटक हुनथाल्थ्यो ।अनि मलाई दशैं आएको जस्तो लाग्थ्यो। 
म पनि माईजुहरुको पछि लागेर माटो खन्न जान्थे। म सानी भएकीले जुनसुकै दुलाभित्र पसेर माईजुलाई माटो खन्न सघाउँथे। ढिस्कोले पुर्ला भन्ने पिरले घरमा हजुरबा हजुरआमा आँखा तन्काएर बाटो हेरिराख्नु हुन्थ्यो। गाउँमा कुटानी पिसानी गर्ने मिल थिएन। हजुरआमाले थाङग्रामा पाकेका काँक्रा टिपेर दारको चौठामा खाँदेको अचार र फर्सीका बियाँको अचार दिनु हन्थ्यो । त्यो कम्ति मिठो हुँदैनथ्यो। सम्झँदा अहिले पनि त्यसै मुख रसाउँछ। तर भाले नबास्तै ढिकीमा चिउरा र धान कुट्न उठ्नुपर्दा भने मलाई साह्रै दिक्क लाग्थ्यो। नउठे मामाहरुले सिरक फालिदिने, कहिले काँहि हजुरआमाले पानीसमेत खन्याईदिनुहुन्थ्यो। 

गाउँमा सबैका घरमा नवरात्रको पूजा हुन्थ्यो। त्यो बेलामा वडा नम्बर ६ मा रहेका ८० घरमध्ये ११ घरमात्र ब्राम्हण समुदायको थियो भने पाँच घर क्षेत्री । अनि अरु लिम्बु र राईहरुको बसोबास थियो। मेरा पण्डित हजुरबालाई घरघरमा गएर चण्डिपाठ र नवरात्रको पूजा गरिदिन भ्याई नभ्याई हुन्थ्यो। म पनि हजुरबाको पछि लागेर जान्थे। टिका लगाएर रातो रिबन र एक वा दुई रुपैयाँ दक्षिणा पाएपछि मेरो खुशीको सीमा नै रहँदैन थियो। 
बाध्यता भनौं वा त्यस्तै परिस्थितीले म मामा घरमा जन्मे, बढेकी हुनाले मलाई अहिलेसम्म पनि मेरो घर भन्नु नै मामा घर हो जस्तो लाग्छ। 

मेरा हजुरबा, आमा, पाँचभाई मामाहरु र दुई माईजुहरु जेठी र माईली मेरो जीवनको आदर्शका पात्र हुन्। मलाई कसैले एक दिन दिनभर कसैलाई सम्झेर समय विताउन भन्यो भने म सायद उहाँहरुलाई नै घटिबढि नगरिकन बराबर किसिमले सम्झन्छु होला। त्यसमाथि पनि हजुरआमा हामी सबैको केन्द्रविन्दु हुनुहुन्थ्यो। आमालाई कानमा खुसुक्क भनेपछि मेरा सबै माग पूरा गरिदिनुहुन्थ्यो। म उहाँलाई आमा र तिमी दुई शव्दले सम्बोधन गर्थे। आमाले के भन्छिन् र हाम्रा लागि के निर्णय गर्छिन् भन्नेमा हामी सबै उत्सुक हुन्थ्यौं। आमा रोगी भएकाले बजार जान सक्दिनथिन्। हाम्रो घरमा मसला, चिया, चिनी, मट्टितेल र बर्षमा एकपटक लुगाबाहेक केही किन्ने चलन थिएन। त्यो पनि नेपालको बजारभन्दा नजिकैको भारतको सिमावर्ती बजारमा गएर। 

हजुरआमाले थाङग्रामा पाकेका काँक्रा टिपेर दारको चौठामा खाँदेको अचार र फर्सीका बियाँको अचार दिनु हन्थ्यो । त्यो कम्ति मिठो हुँदैनथ्यो। सम्झँदा अहिले पनि त्यसै मुख रसाउँछ। तर भाले नबास्तै ढिकीमा चिउरा र धान कुट्न उठ्नुपर्दा भने मलाई साह्रै दिक्क लाग्थ्यो। नउठे मामाहरुले सिरक फालिदिने, कहिले काँहि हजुरआमाले पानीसमेत खन्याईदिनुहुन्थ्यो। 

किसान परिवार भएकोले अरु जम्मै कुरा घरमै उत्पादन हुन्थ्यो। माछा मासु, प्याज, लसुन, गोल्भेडालगायतका धेरै चिजहरु ब्राम्हण समुदायमा बर्जित भएकाले साकाहारी खाना खाईन्थ्यो । हजुरबाले खसी, बाख्रा र अन्न बेचेर जम्मा पारेको पैसाले सबैलाई एक एक वटा नयाँ लुगा हालिदिनुहुन्थ्यो। तर लुगा रोजाएर किन्ने चलन थिएन र घरमै दमाई बोलाएर लुगा सिलाउने चलन थियो। नयाँ लुगा लगाएको दिन् एकपटक भन्ज्याङबाट ठाडो उकालो हिंडेपछि सबैले भन्थे ‘आहा कत्ति राम्रो जामा, कत्ति सुहाएको ।’ गाउँमा पीङ लगाएको हुन्थ्यो र तिहार सकिउन्जेलसम्म पनि हुन्थ्यो । तर छोरी मान्छे बाहिर गायो भने विग्रिन्छ भनेर जानदिनु हुन्न थियो। कहिले काँहिं माईजुले घरमा नभनिकन लिएर जानुहुन्थ्यो र धक पुगुन्जेल मच्चाई दिनुहुन्थ्यो।

टिकाको दिन पाँच जना मामा, दुई जना माईजुपछि मेरो टिका लगाउने पालो आउँथ्यो। सबै मन्त्र पढेर निधारभरि अक्षेताले भरेपछि मात्र टिका लगाई सकिन्थ्यो। म मेरो पालो कतिबेला आउला भनेर कुरेर बस्थे। मेरो मामा घरमा जमरा राख्न फाप्दैन भनेर राख्ने चलन थिएन। फूलबारीमा जे फूलेको छ त्यही कानमा सिउरिदिनुहुन्थ्यो। मामा घरबाहेक टिका लगाउन जाने ठाउँ थिएन। हजुरआमाको चोर औंला समातेर म पनि उहाँको पछि लागेर जान्थे। माईजुले माईतमा जाँदा मलाई साथी लिएर जानुहुन्थ्यो। एकलकाँठे स्वभाबले म अरु नयाँ मानिसहरुसँग गफ गर्न र घुलमिल हुन जान्दिनथें । पुग्न नपाईकन ‘घर फर्कों’ भनेर माईजुलाई पिरोल्थे। पुर्णिमासम्म घरमा कहिल्यै नदेखेका मानिसहरु टिका लगाउन आउने जाने गर्थे। मान्छेका अगाडि म कहिल्यै बोल्दिनथें। तर उनीहरु गईसकेपछि म आमालाई सोधेर हैरान पार्थे। दशैंमा कुटेको चिउरा मंसिरसम्म पनि खाईन्थ्यो।

एसएसी पास गरेर २०५० साल मंसिर ६ गते उच्चा शिक्षाकालागि मैले घर छोडेपछिका मेरा दशैंहरु कहिले कता कहिले कता भए। कलेज जान थालेपछि दशैंमा हालिदिने नयाँ जामाप्रतिको आकर्षण पनि घट्दै गयो। 
विवाहपछि घरमा मानिएका केहि दशैंहरु त रामाईला र आनन्ददायी नै थिए। तर केही दशैंहरु भने औपचारिकता मात्र निभाउने गरि आए। कहिले परिवारका सदस्यको स्वास्थ्य, कहिले अरु नै अनेक कारणले मलाई यो दशैं किन मैले नचाहाँदा नचाहाँदै पनि जर्बजस्ती मेरो ढोकामा आएर ङिच्च दाह्रा देखाएर ठिङग्रिङ उभिन्छ जस्तो पनि नलागेको होईन।

तर समय र परिस्थिति सधैं कहाँ एकनासको हुँदोरहेछ । म अहिले परिवन्द वा आफ्नै रहरले सात समुद्रपारि छु। म जहाँ भएपनि दशैं त आएकै छ। तर शहरमा हुँदा मलाई गाउँको दशैं रमाईलो लाग्थ्यो। अहिले म विदेशमा हुँदा स्वदेशको दशैं रमाईलो जस्तो लागिरहेको छ। सामाजिक सन्जालहरुमा फैलेका शुभकामनाका सन्देशहरु हेर्दा र दशैंको मलश्री मंगल धुन् सुन्दा त्यसै मन विरक्तिएर आउँछ। अनि मनलाई नियन्त्रण गर्न एकछिन समय खर्चिनुपर्छ। काममा एकदिन फुर्सद छैन। छुट्टि नै मिले पनि त के नै गर्नु छ र ।

तर मेरो जीवनमा मन बचन र कर्मले सधैं भलो चिताउने र जीवनमा हरेक दिन दशैं ल्याईदिन भनी भरमग्दुर प्रयाश गरिरहने मेरी हजुरआमा र मेरा श्रीमान् दुबै स्वर्गवासी भईसक्नुभएको छ । जीवनको अर्को एउटा नयाँ पाना शुरु भईसकेको छ। अहिले मलाई जीवनमा सुख र शान्ति भयो भने हरेकदिन दशैं हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको