नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका थप ६ कम्पनीले आईपीओको अनुमति माग्दै आवेदन दिएका छन्। यी कम्पनीहरूले पूँजी बजारमार्फत करिब २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको सेयर निष्कासनका लागि आवेदन दिएका हुन्।
नयाँ आवेदन दिने कम्पनीहरूमा जलविद्युत क्षेत्रका सुपर हेवा पावर कम्पनी लिमिटेड र रघुगंगा हाइड्रोपावर लिमिटेड रहेका छन्। त्यसैगरी उत्पादन तथा प्रशोधन क्षेत्रबाट राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड तथा प्रिमियर डिस्टिलरी लिमिटेडले पनि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन्।
६ कम्पनीले संयुक्त रूपमा २ करोड ७८ लाख ३४ हजार ५३१ कित्ता सेयर निष्कासन गर्ने योजना बनाएका छन् । जसको कुल मूल्य २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबर रहेको छ। राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गर्न २०८३ जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
त्यसै दिन अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्कासनका लागि आवेदन पेश गरेको छ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणलाई लक्षित गर्दै १६ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने प्रस्तावसहित प्रभु क्यापिटल लिमिटेडमार्फत आवेदन दर्ता गराएको छ।
प्रिमियर डिस्टिलरी लिमिटेडले २०८३ जेठ ८ गते २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृति माग्दै सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। जलविद्युत क्षेत्रकै सुपर हेवा पावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार कित्ता सेयर स्थानीय तथा सर्वसाधारणमा जारी गर्न आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्कासन प्रक्रिया लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ। त्यसैगरी रघुगंगा हाइड्रोपावर लिमिटेडले १ करोड ५० लाख कित्ता सेयर निष्कासनको अनुमति माग्दै आवेदन पेश गरेको छ। कम्पनीले एनआईसी एसिया क्यापिटललाई बिक्री तथा निष्कासन प्रबन्धकको जिम्मेवारी दिएको छ।
यी सबै आवेदनहरू धितोपत्र बोर्डको प्रारम्भिक समीक्षा चरणमा छन्। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि सम्बन्धित कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस