Like us!
Follow us!
Connect us!
Watch us!

उत्पादनमूलक क्षेत्रको वित्तीय चित्र: ७ कम्पनीको नाफामा छलाङ, ४ को व्यवसाय स्थिर रहँदा घाटामा रहने कम्पनी कुन-कुन ?

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १४ : ४५ मा प्रकाशित

उत्पादनमूलक क्षेत्रको वित्तीय चित्र: ७ कम्पनीको नाफामा छलाङ, ४ को व्यवसाय स्थिर रहँदा घाटामा रहने कम्पनी कुन-कुन ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपालका प्रमुख सात उत्पादनमूलक तथा कृषिजन्य कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेखनीय सुधार आएको छ। विवरणअनुसार ७ कम्पनीले नाफा कमाएका छन् भने ३ कम्पनी घाटामा देखिएका छन्। बाँकी ४ कम्पनीको अवस्था भने स्थिर देखिन्छ।

 यो अवधिमा सर्वोत्तम सिमेन्टले सञ्चालन आम्दानी र नाफा दुवैमा बलियो वृद्धि गर्दै ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने यसको प्रतिसेयर आम्दानी पनि बढेर २३.१२ रुपैयाँ पुगेको छ। यसैगरी, हिमालयन डिस्टिलरीले पनि आफ्नो व्यवसाय विस्तार गर्दै ८५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जसका कारण यसको प्रतिसेयर आम्दानी ३०.७८ रुपैयाँ कायम भएको छ। शिवम् सिमेन्टको हकमा भने सञ्चालन आम्दानीमा केही संकुचन आए तापनि आन्तरिक लागत व्यवस्थापनका कारण खुद नाफा ६१ करोड ९२ लाख रुपैयाँ पुग्नुका साथै प्रतिसेयर आम्दानी १४.७६ रुपैयाँमा उक्लिएको छ।

बोटलर्स नेपालका दुवै कम्पनीहरू (तराई र बालाजु) ले यस अवधिमा उच्च नाफा कमाएका छन्। बोटलर्स नेपाल (तराई) को नाफा उल्लेख्य रूपमा बढेर २७ करोड ७० लाख रुपैयाँ नाफा पुग्दा प्रतिशेयर आम्दानी आकर्षक ३०५ रुपैयाँ कायम भएको छ भने बोटलर्स नेपाल (बालाजु) ले पनि ७ अर्ब ६५ करोडको आम्दानी गर्दै २१ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अर्कोतर्फ, गत वर्ष नोक्सानी ब्यहोरेको सोनापुर मिनरल्स एण्ड आयलले यो वर्ष बलियो पुनरागमन गरेको छ । गत वर्ष ७ करोडभन्दा बढी घाटामा रहेको यो कम्पनी अहिले २२ करोड ६१ लाख रुपैयाँ नाफामा फर्किएको छ र यसको प्रतिसेयर आम्दानी पनि ७.३५ रुपैयाँ धनात्मक भएको छ। कृषि क्षेत्रको श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले पनि आर्थिक वर्ष २०८२/८३ को यसै अवधिसम्ममा आफ्नो व्यापार झन्डै दोब्बरले बढाएर २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समग्रमा, यो अवधि अधिकांश ठूला कम्पनीहरूको व्यावसायिक वृद्धि र सेयरधनीका लागि सुखद देखिएको छ।

वित्तीय दबाबमा तीन कम्पनी

उत्पादनमूलक क्षेत्रका तीनवटा प्रमुख कम्पनीहरू अझै पनि घाटाबाट मुक्त हुन सकेका छैनन्। व्यापार बढेर सञ्चालन आम्दानीमा सुधार देखिए पनि आन्तरिक लागत र वित्तीय खर्च व्यवस्थापन गर्न नसक्दा यी कम्पनीहरूको खूद नाफा र प्रतिसेयर आम्दानी ऋणात्मक नै रहन पुगेको छ।

 यो अवधिमा घोराही सिमेन्टले आफ्नो वित्तीय स्थितिमा केही सुधार गर्दै नोक्सानीको आकार निकै घटाएको छ। गत वर्ष ५५ करोड ४४ लाख रुपैयाँ नोक्सानमा रहेको यो कम्पनीको घाटा यसपालि १५ करोड ८७ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी सामान्य बढेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगे पनि व्यापार पूर्ण रूपमा नाफामा फर्किन नसक्दा प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक देखिएको छ। अर्कोतर्फ, औषधी उत्पादक संस्था ओम मेगाश्री फर्मास्युटिकल्सको व्यावसायिक आम्दानीमा सुधार भए पनि खुद नोक्सानी भने थप चुलिएको छ। कम्पनीको सञ्चालन आम्दानी गत वर्षको तुलनामा झन्डै ३ करोडले वृद्धि भई १३ करोड ९१ लाख रुपैयाँ पुगे तापनि कुल घाटा बढेर ४० करोड ९६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, यसको प्रतिसेयर आम्दानीमा भने गत वर्षको तुलनामा केही सुधार भई ९.१० रुपैयाँ ऋणात्मक कायम भएको छ।

त्यसैगरी, सागर डिस्टिलरीको व्यापारमा सकारात्मक वृद्धि भई सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगे पनि कम्पनीको खुद नोक्सानीमा भने तीव्र वृद्धि भएको छ। गत वर्ष जम्मा ७७ लाख ३० हजार रुपैयाँ मात्र नोक्सानीमा रहेको यो कम्पनीको घाटा यस वर्ष बढेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ। आम्दानी बढे पनि खर्च नियन्त्रण बाहिर जाँदा कम्पनीको प्रतिसेयर आम्दानी पनि ६.४९ रुपैयाँले ऋणात्मक बन्न पुगेको छ।

कस्तो छ त बाँकी ४ कम्पनीको अवस्था ?

तेस्रो त्रैमाससम्म उत्पादनमूलक क्षेत्रका चारवटा प्रमुख कम्पनीहरूको व्यावसायिक अवस्था केही सुस्त तर स्थिर देखिएको छ। यस अवधिमा अधिकांश कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा केही संकुचन आएको छ।

पाल्पा सिमेन्टको व्यावसायिक आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । गत वर्ष ४ अर्ब ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेर ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीको आम्दानी समीक्षा अवधिमा ३ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा खुम्चिएको छ भने खुद नाफा ५ करोड ७३ लाख रुपैयाँमा सीमित हुँदा प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ मात्र कायम भएको छ।

त्यसैगरी, युनिलिभर नेपालको व्यवसायमा पनि सामान्य गिरावट देखिएको छ। कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँबाट घटेर १ अर्ब ८७ करोड २७ लाख रुपैयाँमा झरेको छ भने खुद नाफा पनि ४८ करोड २२ लाख रुपैयाँबाट केही घटेर ४५ करोड ५३ लाख रुपैयाँ कायम भएको छ।कम्पनीको प्रतिसेयर आम्दानी भने उच्च अर्थात् ४९५ रुपैयाँ रहेको छ ।

 रिलायन्स स्पिनिङ मिल्सको कुल आम्दानीमा भने झन्डै ७ करोडको सामान्य वृद्धि भई ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ पुगेको छ । तर लागत वृद्धिका कारण खुद नाफा भने गत वर्षको ३२ करोड ४२ लाख रुपैयाँको तुलनामा घटेर २६ करोड ६८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । यद्यपि कम्पनीको प्रतिसेयर आम्दानीमा भने सुधार भई १६.०८ रुपैयाँबाट २०.४२ रुपैयाँ पुगेको देखिन्छ।  यसैगरी, एसवाई प्यानल नेपालको वित्तीय अवस्थामा पनि मिश्रित नतिजा आएको छ। कम्पनीको बिक्री आम्दानी ५१ करोड ७० लाख रुपैयाँबाट सामान्य बढेर ५३ करोड ८ लाख रुपैयाँ पुगे तापनि खुद नाफा भने गत वर्षको ३ करोड ६६ लाख रुपैयाँबाट केही घटेर ३ करोड २ लाख रुपैयाँमा झरेको छ । जसका कारण यसको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ कायम भएको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको