Like us!
Follow us!
Connect us!
Watch us!

किन प्रतिबन्ध गरियो राजेश मेहतालाई सेयर कारोबार गर्न ?

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १५ : १९ मा प्रकाशित

किन प्रतिबन्ध गरियो राजेश मेहतालाई सेयर कारोबार गर्न ?

भारतीय पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले राजेश मेहतालाई सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ । सेबीले विश्वकै प्रमुख सुन प्रशोधन कम्पनीहरूमध्ये एक राजेश एक्सपोट्र्सका प्रवद्र्धक तथा अध्यक्ष राजेश मेहतालाई अन्तरिम रूपमा सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको हा ।

कम्पनीले आफ्नो वित्तीय अवस्था बलियो देखाउन करिब १५.१५ लाख करोड भारतीय रुपैयाँ बराबरको राजस्व कृत्रिम रूपमा बढाएर देखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि सेबीले यो कदम चालेको हो । सेबीले जारी गरेको १०९ पृष्ठ लामो अन्तरिम आदेशअनुसार कम्पनीले आफ्नो कुल राजस्वको झण्डै ९९ प्रतिशत हिस्सा कागजी कारोबारमार्फत देखाएको आशंका गरिएको छ । नियामकले यसलाई अत्यन्त गम्भीर वित्तीय अनियमितता भन्दै थप अनुसन्धान जारी रहेको जनाएको छ ।

घटनाको जानकारी सार्वजनिक भएसँगै राजेश एक्सपोट्र्सको सेयर मूल्यमा तीव्र गिरावट आएको छ । कम्पनीको सेयर ५ प्रतिशतको लोअर सर्किटमा बन्द भएको थियो । बजारमा बिक्रीकर्ताको चाप बढ्दा खरिदकर्ता लगभग नदेखिएको बताइएको छ । यस प्रकरणले भारतको सरकारी स्वामित्वको जीवन बीमा निगम (एलआईसी)लाई समेत प्रत्यक्ष असर पारेको छ । एलआईसीको कम्पनीमा १०.८ प्रतिशत हिस्सेदारी रहेको छ । सेबीको कारबाहीपछि एलआईसीको सेयर मूल्य पनि करिब १ प्रतिशतले घटेको बताइएको छ ।

यता राजेश एक्सपोट्र्सले भने सेबीका आरोपहरू अस्वीकार गरेको छ । कम्पनीले स्टक एक्सचेन्जमा दिएको स्पष्टीकरणमा आफूले सेबीको अन्तरिम आदेश प्राप्त गरेको पुष्टि गर्दै अन्तिम निष्कर्ष अझै नआएको जनाएको छ । कम्पनीका अनुसार राजस्व सम्बन्धी सबै विवरण सही छन् र सेबी तथा कम्पनीबीचको सञ्चार अन्तर तथा भ्रमका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

६० वर्षीय राजेश जे. मेहताले सन् १९८९ मा स्थापना गरेको राजेश एक्सपोट्र्स विश्वकै ठूलो सुन प्रशोधन तथा निर्यात कम्पनीहरूमध्ये एक मानिन्छ । कम्पनीले कच्चा सुन खरिद गरेर त्यसलाई प्रशोधन गर्ने तथा गहना उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने कार्य गर्दै आएको छ । हाल सेबीको अनुसन्धान जारी छ । अन्तिम निर्णयअघि कम्पनी र प्रवद्र्धक पक्षलाई आफ्नो स्पष्टीकरण तथा प्रमाण पेश गर्ने अवसर दिइनेछ। आरोप पुष्टि भएमा भारी जरिवाना, दीर्घकालीन बजार प्रतिबन्ध तथा थप कानुनी कारबाही हुन सक्ने बताइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको