Like us!
Follow us!
Connect us!
Watch us!

‘एसियाली पुँजी बजारसँग सहकार्य गरौँ’

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, ०७ : ५१ मा प्रकाशित

‘एसियाली पुँजी बजारसँग सहकार्य गरौँ’

अर्थ संसार, काठमाडौं-कोभिड–१९ को एसियाली मुलुकहरूमा तुलनात्मक रूपमा अन्य मुलुकको भन्दा कम प्रभाव परेकाले आगामी दिनमा एसियाली पुँजी बजारसँग सहकार्य गर्नुपर्ने र पुँजी बजार खुला गर्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

‘कोभिडका कारण विश्व अर्थतन्त्रले नयाँ मोड लिँदै छ, एसियाली मुलुकहरूमा मात्रै शून्यमाथिको वृद्धिदर हुने प्रक्षेपण भएका छन्,’ अर्थमन्त्री खतिवडाले भने, ‘त्यसैले कम्तीमा पनि सार्कस्तरमा पुँजी बजार खोल्नुपर्ने हुन सक्छ, प्रविधि हस्तान्तरण र पुँजी परिचालनमा यसले सहयोग पुग्न सक्छ ।’

धितोपत्र बोर्डको २५औँ वार्षिकोत्सवको सन्दर्भमा आयोजित वेबसेमिनारमा अहिले नै यो सम्भव नभए पनि यसमा छलफल र तयारी अगाडि बढाउनुपर्ने तर्क खतिवडाले गरेका हुन् । उनले आफूले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेर आकाश छुने कुरा नगरेको र तीन वर्षको औसत वृद्धिदरलाई आधार लिएर तय गरिएको स्पष्ट पारेका छन् ।

खतिवडाले हालसम्म लकडाउनको अवधिभर बजार बन्द रहे पनि अब भने जीवनरक्षासँगै आधारभूत आर्थिक क्षेत्रहरू खोल्नुपर्नेमा सरकारको ध्यान गएको बताएका छन् । उनले बजार खोल्दा गर्नुपर्ने तयारीलाई अगाडि बढाउनसमेत निर्देशन दिएका छन् ।

खतिवडाले अभौतिक मुद्राको कारोबार, क्राउड फन्डिङजस्ता नयाँ वित्तीय उपकरणहरूबारे सबै पक्षले कार्य विभाजन गरेर अगाडि बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । धितोपत्र बोर्डले पनि लामो अवधिसम्म बजार बन्द गर्न नहुने बताएको छ ।

‘लगानीकर्तालाई पहुँचमा समस्या परेका कारण बीचमा दुई दिन खुलेर पनि बजार बन्द गर्नुपर्यो,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘तर, अब यसलाई लामो अवधिसम्म बन्द गरेर जानुहुन्न भन्नेमा बोर्ड सचेत छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको