अर्थ संसार, काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बेंकलाई चार बुँदे सुझाव दिएको छ । बोर्डले विभिन्न ४ वटा सुझाव दिँदै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको हाे ।
कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको माग पक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले बोर्डले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरिदिने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई चार बुँदे सुझाव पेश गरिएकाे बाेर्डले जनाएकाे छ ।
बोर्डले दिएकाे चार बुँदे सुझाव यस प्रकारकाे छ :
१. बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।
२. शेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने ।
३. विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने ।
४. बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने कर्जाको व्याजदर भन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस