Like us!
Follow us!
Connect us!
Watch us!

जिवित जन्मेकाे बच्चा प्रसुती गृहले फ्याँक्याे, राेइरहेकाे देखेपछि ८ घण्टापछि बल्ल उपचार (भिडियाेसहित)

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, २१ : २८ मा प्रकाशित

जिवित जन्मेकाे बच्चा प्रसुती गृहले फ्याँक्याे, राेइरहेकाे देखेपछि ८ घण्टापछि बल्ल उपचार (भिडियाेसहित)

 

लीलानाथ घिमिरे

अर्थ संसार, काठमाडौं  -थापाथलीस्थित परोपकार प्रसुती गृह जिवित जन्मेकाे शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फाेरमा फ्याँकेर उपचारमा चरम लापरबाही गरेकाे छ । सिन्धुली गोलन्जाेर -२ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्तिकाे शिशुकाे उपचारमा उक्त अस्पतालले यस्ताे चरम लापरबाही गरेकाे हाे । 

गर्भवती अञ्जुलाई असहज भएपछि श्रीमान उत्तमले आइतबार थापाथली अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याएपछि अन्जुलाई रक्तस्राव सुरु भयो । रक्तस्राव हुँदै गएपछि नर्सहरुले बच्चा जन्मन लागेकाे बताए । श्रीमान् उत्तमका अनुसार श्रीमती मञ्जुलाई प्रसुती कक्षमा नलगि सामान्य वार्डमै सुत्केरी गराउने औषधि दिइएकाे थियाे । त्यसपछि सोमबार विहान २ बजे (राति) अन्जुले बच्चालाई जन्म दिइन् । बच्चाकाे ताैल ६ सय ग्राम मात्र भएकाे र समय नपुगी (प्रिम्याच्याेर) जन्मेकाले बच्चा नबाँच्ने चिकित्सकले बताए । ‘डाक्टरले भनेपछि हामीले विश्वास गर्याैं,’ उत्तम भन्छन्, ‘त्यसपछि हामीलाई बच्चा हेर्न दिएनन् । काेपारामा राखेर फाेहर जम्मा गर्ने जस्ताे काेठामा लगेर राखे ।’ स्वास्थ्यकर्मीले उत्तम दम्पत्तीलाई बच्चाकाे मृत्यु भएपछि अन्तिम संस्कार गर्न लैजानु भने । 

चिकित्सकले भनेपछि उत्तम दम्पत्तीले विश्वास नगर्ने कुरा भएन । उनीहरूले शिशुकाे माया मारे । बच्चा नबाँच्ने भनेपछि उत्तमलाई बच्चाको ‘मृत्यु प्रमाणपत्र’ मा सही गर्न लगाइयो । पहिलाे बच्चाकाे यस्ताे अबस्था हुँदा उत्तम दम्पत्ती हदै तनाबमा पुग्याे । ‘हामीले कसलाई गुहार्ने भन्ने साेच्नै सकेनाै,’ उत्तम भन्छन् ।

शिशुलाई फ्याँकेकाे करिव ८ घण्टापछि गएर हेर्दा बच्चा राेइरहेकाेकाे पाएकाे उत्तमले बताए । उनका अनुसार बच्चाले हातखुट्टा फ्याँकेर राेइरहेकाे थियाे, त्यसपछि बच्चा बाँच्छ क्यारे भनेर उनले नर्सलाई भने । ‘त्यतिखेर राउन्डमा अर्काे  डाक्टर आउनु भएकाे थियाे । मैले उहाँलाई लगेर बच्चालाई देखाएँ । उहाँले बच्चालाई भेन्टिलेटरमा राख्दा बाँच्न सक्छ भन्नु भयाे, उत्तमले भने, ‘त्यसपछि शिशु फ्याँकिएकाे ८ घण्टामा बल्ल उसकाे उपचार सुरू गरियाे । सास छउन्जेल आस भनेझैं शिशु बाैरिने आस पलायाे ।’

अहिले शिशु भेन्टिलेटमा हातखुट्टा फ्याँकेर खेलिरहेकाे छ । उत्तमले मंगलबार दिउँसाे ५ बजे नवजात शिशुलाई हेरेर केही सेकेन्डकाे भिडियाे खिचेका छन् । त्यसमा शिशु राेइरहेकाे र हातखुट्टा सामान्य शिशुले जस्तै फ्याँकिरहेकाे देखिन्छ । 

समयमै उपचार पाएकाे भए शिशुकाे अबस्था अझ राम्राे हुने सहजै अनुमान गर्न सकिन्छ । ‘बच्चा जन्मिदा स्वासप्रस्वास सामान्य रहेकाे अबस्थामा थप उपचार सुरू गर्नु पर्ने सामान्य चिकित्सकीय आचार संहिता हाे । स्वास फेर्न छाडेकाे शिशुकाे समेत स्वासप्रस्वास फर्काउन सकिन्छ कि भनेर हामी प्रयास गर्छाैं,’ एक प्रशुती विज्ञले नाम नबताउने सर्तमा भनिन्, ‘स्वास फेरिरहेकाे शिशुलाई गार्बेजमा फ्याँकेर प्रसुती गृहका स्वास्थ्यकर्मीले चरम लापर्वाही गरेका छन् ।कानुनी र मानवीय दृष्टिले पनि यस्ताे गर्नु अपराध हाे ।’ उनका अनुसार बच्चा जन्मेपछि बालराेग विशेषज्ञ, प्रसुती विज्ञ र स्टाफ नर्ससहितले संयुक्त रूपमा निर्णय नगरी शिशुकाे मृत्यु घाेषणा गर्न नसकिने बताइन् । 

बच्चा कति हप्ताकाे भनेर हिसाव गर्न गर्भवती महिलाकाे अन्तिम महिनावारीबाट गणना गरेर निकालिन्छ । कहिलेकाहिँ महिनावारीकाे ठ्याक्कै मिति थाहा नहुँदा गर्भाधान मिति अगाडिकै पनि हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान काेइराला अवधि नपुगी जन्मेकाे र कम ताैलकाे भए पनि शिशुकाे उपचारमा लापर्वाही गर्न नहुने बताउँछन् । ‘नबाँच्ने जस्ताे चिकित्सकलाई लागे पनि शिशुलाई कस्ताे ब्यवहार गर्ने भन्ने मानवीय कुरा पनि हाे,’ उनले भने, ‘यसबारेमा म मेडिकल काउन्सिलकाे इथिकल कमिटिमा कुरा राख्छु ।’  

प्रसूति गृहको बच्चा विभागकी प्रमुख डा. कल्पना सुवेदीले भने यस्तो बच्चा बाँच्यो भने आश्चर्य हुने बताइन् ।‘बाँच्ने सम्भावना अति कम हुन्छ भनेर हामीले उहाँहरुलाई जानकारी दियौं । हाम्रोमा भेन्टिलेटर खाली थिएन्,’ डा. सुवेदीले भनिन्, ‘अन्त लानुहुन्छ कि माया मार्नुहुन्छ भन्दा बाँच्न सक्दैन भने ठिकै छ भनेकाले उहाँहरुलाई हस्ताक्षर गर्न लगाइएको हो ।’ 

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको