अर्थ संसार
काठमाडौँ– सेयर बजार अनावश्यक रुपमा उचालिने र थचारिने अवस्था आएको भन्दै नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । उसले भनेको छ हल्लाको पछाडि नदौडौ, सचेत एवम् संयम भएर लगानी गरौ । हल्लाको पछाडि दौडदा त्यसले पार्ने प्रभाव सकारात्मक भन्दा नकारात्मक नै बढी हुने गरेको छ ।
कागले कान लग्यो भनेर कागको पछाडि दौडने कि मान छाप्ने भन्ने भनाइ नै सेयर बजारको हकमा समेत लागू हुन जान्छ । २०७३ साल नेपालीबाट विदा भएको छ । सेयर बजारमा उतार चढावको हिसाबले दुवै अनुभव राम्रोसँग बुझेको वर्षको रुपमा २०७३ लाई लिइन्छ । बजार चरम सीमा मात्रै पुगेको नभइ चरम रुपमा तल ओर्लिएको अवस्थालाई पनि नेपाली लगानीकर्ताले अनुभव गर्न पाए ।
उकै दिन तीन तीन पटक सर्किट ब्रेक लाग्नेदेखि बजार घटेर टाटै पल्टने अवस्था पनि आएको थियो । ठूला र राम्रा भनिएका सेयरको मूल्य पनि घटबढ हुँदा बजार आशा भन्दा निराशाको कुहिरोमा नै हराएको अवस्था थियो ।
राजनीतिक अनिश्चितता, क्रेडिट क्रन्च तथा अन्य विभिन्न कारणले गर्दा बजार अनियन्त्रित र अन्यौलको भूमरीमा नराम्ररी फसेको थियो । आधा जसो वर्ष बजार घटनमा नै केन्द्रीत भयो भने आधा जसो बर्ष बजार बढ्नमा केन्द्रीत भयो ।
वर्षको अन्त्यसम्म आइपुग्दा बजार सम्हालिएर पूरानै बिन्दुमा आइपुगेको छ । एक हजार ७०० को हाराहारीमा बजार पुगेको छ । एक हजार नौ सय बिन्दुमा पुगेको बजार घटेर एक हजार २०० बिन्दुमा आइपुग्नुले लगानीकर्तालाई निरुत्साहित बनाएको थियो तर वर्षको अन्त्यमा आइपुग्दा बजार पुनः लयमा फर्कियो ।
वर्षको समग्र अवस्थाको विश्लेषण गर्दा राम्रो कम्पनीको सेयर उचित मूल्यमा किन्नेहरुले अहिले हल्लाको भरमा हतारिएर बेच्नु पर्ने कुनै कारण छैन तर खराब कम्पनीको सेयर उचालिएर किन्नेहरुले भने पछुताउनुपर्ने अबस्था अबश्य आउँने देखिएको छ ।
सेयर कारोबार समयको सुरुमा उचालिएर खराब कम्पनीको सेयर किन्ने र अन्तिम तिर हल्लाको भरमा जत्तिमा पाए पनि राम्रो सेयर बेच्ने लगानीकर्ताहरुलाई लागेको झ्टकाको सन्दर्भमा केही सुरक्षित उपायहरु सुझाईएको छ ।
पहिले लगानीकर्ताहरु धेरै उत्साहित बन्ने र अन्त्यमा धेरै निराश बन्ने अवस्थामा पुग्ने गरेका छन् । नेपालको सेयर बजारबाट आशाबादी हुनसकिने कयौं कारणहरु छन् । देशको आर्थिक अबस्था सबल बन्ने आँकलनहरु सार्बजनिक भईरहेको, तरलता अभावको अबस्था क्रमशः अन्त्य हुनु, स्थानीय तहको चुनावी वातावरण क्रमशःतयार हुँदै गएको, कम्पनीहरुले आकर्षक प्रगति गरेको आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति बिबरण अर्को सातादेखि पस्कने, अनलाईन सेयर कारोबार प्रणाली निकट भबिष्यमै सञ्चालनमा आउने भएको छ ।
सेयर दलालको शाखा बिस्तारले बजारमा लगानीकर्ता र लगानी थपिने, बैंक तथा बित्तीय संस्थाको हकप्रद र एफपीओको ठूलो प्रबाह अब करिब करिब अन्त्य हुँनै लागेको, कम्पनीहरुको संस्थागत सुशासनमा सुधार आएको लगायतका कारणले पनि बजार सुधार भएको छ ।
बजारमा नयाँ लगानीकर्ताहरुको प्रबेश भईरहेको अहिलेको अबस्थामा हावादारी हल्ला फैलाउने र रोक्ने काममा सेयर दलालहरुको मूख्य भुमिका देखिएको छ ।। खासगरी जिल्लाहरुमा भरखरै शाखा बिस्तार गरेका दलालहरुले नयाँ तथा साना लगानीकर्ताहरुलाई सेयर किनिदिने मात्रै हैन, कुन सेयरमा लगानी गर्दा जोखिम कम र प्रतिफल बढी हुन्छ भनेर सल्लाह दिने काम पनि गर्नु पर्ने हुन्छ तर उनीहरु त्यसो गर्न तयार छैनन् ।
एकाएक मूल्य बढेको खराब कम्पनीहरुको सेयर नयाँ लगानीकर्ताहरुलाई किनाईदिएर केवल फाइदाको लागि मात्रै काम गर्ने प्रवृत्ति हावी भएको छ । हल्लाको भरमा खराब कम्पनीको सेयर मूल्य उचाल्ने र त्यसमा नयाँ लगानीकर्तालाई फसाउने हो भने नेपालको सेयर बजारप्रति अबिस्वास बढ्नेछ, जुन विगतमा देखिएको हो ।
धितोपत्र बोर्डले पनि फेरि एकपटक आम सर्वसाधारण लगानीकर्तालाई सचेत गराएको सन्दर्भमा अब राम्रो कम्पनीमा सुरक्षित दीर्घकालीन लगानी गर्ने कुराबाट दायाँ बायाँ हुनुहुन्न । राम्रो कम्पनीमा सुरक्षित लगानी गर्नेहरु बिचलित हुनुपर्ने कुनै कारण छैन । नेप्से कहाँ पुग्ला वा कसरी अगाडि बढ्ला भन्ने विषयले त्यति धेरै अर्थ राख्दैन । तर लगानीकर्ताले कस्तो कम्पनीको सेयर खरिद गरेका छन् भन्ने विषयले नै महत्वपूर्ण काम गर्दछ ।
खराब कम्पनीको सेयर खरिद गरेर पछुताउनु भन्दा राम्रा कम्पनीको सेयर खरिद गरेर धैर्यताका साथ काम गर्ने हो भने लगानी सुरक्षित रहन सक्छ । हल्लाको भरमा दौडने हो भने त्यसले सकारात्मक होइन नकारात्मक नै बढी प्रभाव पार्न सक्छ । कम्पनीको आर्थिक अवस्था, वित्तिय स्वास्थ्य एवम् नाफा घाटाको अवस्था हेरेर लगानी गर्ने हो भने कहिल्यै घाटा हुँदैन ।
यो गएको वर्षले नेपाली लगानीकर्तालाई दिएको शिक्षा हो । यो शिक्षालाई मात्रै अनुसरण गर्ने हो भने नेपाली सेयर बजार सुरक्षित एवम् भरपर्दो बन्न सक्छ , अन्यथा एकाध मान्छेको होल्डमा रहेको बजार सधै अस्थिर र अनिश्यि नै रहीरहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस