Like us!
Follow us!
Connect us!
Watch us!

अण्डाको घट्यो मूल्य, कति पुग्यो?

अर्थ संसार

सोमबार, ०३ फागुन २०७७, १४ : ०१ मा प्रकाशित

अण्डाको घट्यो मूल्य, कति पुग्यो?

सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य  घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।   स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । 

अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उनको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उनको भनाइ छ । 
 
त्यस्तै, मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन् । सङ्घले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम रु ३०० कायम गरेको छ । यसअघि ठूलो अण्डाको दर रु ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो । केसीले भने, “उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।” 
 
यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ । अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए । उनका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै रु एक प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ । 
 
त्यसैगरी, उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन् । उपभोक्ताले भने रु १५ मा अण्डा खरिद गर्न बाध्य छन् । विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताए । उनले भने, “सङ्घले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।”
 
सङ्घका उपाध्यक्षसमेत रहेका किसान किरण ओली बजारमा अण्डाको माग भइरहेको भए पनि व्यवसायीको चलखेलका कारण मूल्य घटेको बताउँछन् । उनले भने, “म सस्तोमा अण्डा बिक्री गर्दिनभन्दा मसँग एक हजार ५०० पेटी अण्डा थन्किएको छ ।” अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उनले आरोप लगाए । 
 
त्यस्तै, घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको उनको भनाइ छ । दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो सङ्ख्या घटेर एक हजार ७०० मा झरेको उनले जानकारी दिए । ओलीले भने, “साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।” 
 
हाल दैनिक देशभरमा ३२ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिनाअघिसम्म यो सङ्ख्या २६ लाख हाराहारी रहेको सङ्घले जनाएको छ ।  नेपालमा कुखुराजन्य क्षेत्रमा रु १ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको