Like us!
Follow us!
Connect us!
Watch us!

गायक सुजन चापागाईंको ‘लजाएर’ गीत सार्वजनिक

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १७ : ०० मा प्रकाशित

गायक सुजन चापागाईंको ‘लजाएर’ गीत सार्वजनिक भएको छ । 

निर्देशक नवीन चौहान र गायक सुजन चापागाईंको सहकार्यमा बनेको उत्त म्युजिक भिडियो गायक सुजन चापागाईंको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । शैलेश गिरीको शब्द रहेको उत्त गीतलाई सुजनले स्वर र संगीत दिएका छन् ।  भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् । भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ । 

सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ । भिडियोमा ‘तिनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ । त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।

त्यस्तै, म्युजिक भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने निर्देशक नवीन चौहानको यो छैटौं भिडियो हो । भिडियोमा पात्रहरूको मनोविज्ञान, उनीहरूको संवाद र दृश्यलाई मौलिक बनाउन उनको मेहेनत झल्केको देखिन्छ । नवीनका अघिल्ला भिडियो ‘लुकिछिपी’देखि ‘बटौली’, ‘के माया लाग्छ र’, हुँदै ‘तिनपाते’सम्म हेर्ने हो भने कथाहरू गाउँले परिवेशमा आधारित छन् । तर यसपालि उनको कथावस्तु र परिवेश भिन्न छ । सहरीया परिवेशमा उनले फरक शैलीको गीति भिडियो निर्माण गरेका छन् । उनी भन्छन्, ‘सहरीया परिवेशमा केही गर्ने हुटहुटी अलि अगाडिदेखि नै थियो । त्यो मौका अहिले आएर पूरा गर्न सकेकोमा खुसी छु ।’

यसपछि नवीनको निर्देशन र सुजनको स्वरमा नयाँ गीत ‘बाफ’ समेत रिलिज हुने तयारीमा छ । गायक सुजनको केही समयअघि रिलिज भएको ‘गाला पु्क्क’ले पनि युट्युवमा एक करोडभन्दा बढी भ्युज पाइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको