राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् ।
आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् ।
उनले सुशासन अभियानलाई प्रभावकारी बनाउन उद्योगी व्यवसायीहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक सुधारका पहलहरूलाई सकारात्मक दृष्टिकोणले लिन आग्रह गरे। सरकार कुनै पनि व्यवसायीलाई हतोत्साहित गर्ने मनसायमा नभई नीति तथा प्रणालीमार्फत सुरक्षित र स्थिर व्यावसायिक वातावरण निर्माण गर्न केन्द्रित रहेको उनको भनाइ थियो। लामिछानेले विगतमा राजनीतिक अस्थिरता र विभिन्न दबाबका कारण व्यवसायीहरू शक्तिकेन्द्र धाउन बाध्य भएको यथार्थलाई सरकार जानकार रहेको बताए। अब त्यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यवसायीहरूलाई आत्मविश्वासका साथ आफ्नो काममा केन्द्रित हुन आग्रह गरे। उनका अनुसार अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधि, संस्थागत कब्जा र अनियमितताप्रति भने राज्यले कडाइका साथ निगरानी बढाउनेछ। सुशासनको एजेन्डा तीव्र रूपमा अघि बढ्दा केही प्रश्न र जिज्ञासाहरू उठ्न सक्ने उल्लेख गर्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। सरकार चुनावी घोषणापत्रअनुसार अघि बढिरहेको दाबी गर्दै उनले नीति, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर काम भइरहेको स्पष्ट पारे। साथै, व्यवसायीहरूलाई आफ्ना कमजोरीहरूको आत्ममूल्याङ्कन गर्न, आन्तरिक लेखापरीक्षणलाई सुदृढ बनाउन र सुधार प्रक्रियामा सरकारसँग सहकार्य गर्न उनले सुझाव दिए।
नीतिगत सुधार, सुशासन र आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै भविष्यमा व्यवसायीहरूले समस्या लिएर राजनीतिक नेताहरूको ढोका ढक्ढक्याउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनले व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस