Like us!
Follow us!
Connect us!
Watch us!

संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

मंगलबार, २६ बैशाख २०७४, १४ : १८ मा प्रकाशित

संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति

अर्थ संसार 
काठमाडौँ– सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एमाले) र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको सो बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने र पारितसमेत गर्न लगभग सहमति भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी जेठ ४ गते बस्दैछ । सो बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ । बैठकले काँग्रेसका सभापति शेरबहादुर देउवा एवम् प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पुर्याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ ।

 
“दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता एवम् अन्य दलका नेतासित घनीभूत छलफल सुरु गर्नुहुनेछ”, बैठकपछि माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भन्नुभयो । उहाँका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ । 

बैठकमा आसन्न वैशाख ३१ गते र आगामी जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढङ्गल सम्पन्न गर्ने विषयमा पनि ती कुराकानी भएको थियो । बैठकमा नेता देउवा र प्रधानमन्त्री प्रचण्डले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेस केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गर्नुभएको नेता शर्माले जानकारी दिनुभयो । 

एमाले संविधान संशोधनको विरोधी होइनः गौतम 

बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीचमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ ।” 

सरकारले ल्याएको संशोधन प्रस्तावमा रहेका केही बुँदामा आफ्नो पार्टीको असहमतिसमेत रहेको उपाध्यक्ष गौतमले बताउनुभयो । नेता गौतमका साथमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि सहभागिता थियो । 

झुक्याउने र फकाउने काम भयोः महतो 

राजपाका नेता राजेन्द्र महतोले तराई÷मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गर्नुपर्छ, यसबाट मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खुला हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो “सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु गर्छु भन्नुहुन्छ, खोइ त भएको रु हामीले बैठकमा स्पष्ट भनिदियौँ, अब पनि हामीलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग लिदैनौं । 

नेता महतोले हालसम्म तराई÷मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र बन्दी रिहाइ सरकारका तर्फबाट नभएको भनी असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । बैैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा, एमाले उपाध्यक्ष गौतम, उपप्रधानममन्त्री विमलेन्द्र निधि, राजपाका नेता महन्थ ठाकुर, महतो, अनिल झालगायत नेता उपस्थित हुनुहुन्थ्यो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको