नेपाल सेयर बजार लगानीकर्ता संघले रिलायन्स स्पिनिङग मिल्सको हवाला दिदै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष हरि बहादुर केसीले जारी गरेको विज्ञप्तिमा अहिले अदालतमा पुगेको विषयमा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि विवादित रहेको रिलायन्स स्पिनिङ्ग मिल्स लि. को प्राथमिक सार्वजनिक निष्काशन पकृया पारदर्शी र लगानीकर्ता मैत्री नभएकोले सो अनियमितता प्रकरणमा संलग्न नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ्ग मिल्स लि., सो कम्पनीको लेखापरीक्षक, क्रेडिट रेटिङ्ग एजेन्सी, अण्डरराईटर, सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आई.एम.ई. क्यापिटल लि., नेपाल स्टक एक्सचेन्ज लि., योग्य संस्थागत लगानीकर्ताहरु, कम्पनी रजिष्ट्रारको कार्यालय उपर आवश्यक अनुसन्धान गरी यथार्थ उजागर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अर्थ मन्त्रालय लगायतका निकायहरुमा समेत अनुरोध गर्दा सुनुवाई नभएकोले सो विषयलाई सम्मानित सर्वोच्च अदालतबाट निरुपण गराउन प्रयासरत छौं ।’
‘यसै क्रममा २०८२ मंसिर १९ गते शुक्रवारका दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा निमित्त कार्यकारी निर्देशकसंग बार्ता गरी सो आईपीओ स्थगित गरी पुनरमुल्यांकन पश्चात प्रकृया अघि बढाउन माग प्रश्तुत गरेको, सोको बाबजुद अर्को दिन शनिवार आब्हान पत्र सार्वजनिक गरिएपछि यस संघद्वारा सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकामा कैफियत प्रतिवेदन मगाई बहसको चरणमा रहेको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संघले संगठित संस्थाले कानूनको अधीनमा रही आफ्नो कम्पनीको पुँजीको केही हिस्सा प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्नु सामान्य प्रकृया भएतापनि तथ्यांक तोडमरोड गरेर पुरानो विबरणका आधारमा, सरकारवाट प्राप्त नभैसकेको निर्यात ईन्सेन्टिभलाई आम्दानीमा गणना गर्ने, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको बक्यौता विद्युत महशुललाई खर्च ब्यवस्था नगरी तयार विवरणलाई लेखापरीक्षक मार्फत प्रकृयामा लगी, योग्य संस्थागत लगानीकर्ताहरुलाई सर्वसाधारणकै लगानी रहेको म्युचुअल फण्डले गरेको अधिकमूल्यांकनको आधारमा कटअफ सेयर मूल्य कायम गरिनु कानूनको उल्लंघन हो भन्ने निक्र्योल गरी यस विषयमा न्यायिक निकाय गुहार्न बाध्य भएको उल्लेख गरेको छ ।
‘हाल रिलायन्स स्पिनिङ्ग मिल्सको हवाला दिंदै विभिन्न संचार माध्यममा प्रकाशित आधारहीन समाचारहरु प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस संघ र संघका सम्पुर्ण पदाधिकारीहरु विना कुनै स्वार्थ, लोभलालच सर्वसाधारण तथा लगानीकर्ताहरुको समग्र हितमा निरन्तर लागि रहने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौँ । साथै संघले गरेको यो पहलमा सहयोग गरिदिनुहुन सम्पुर्ण लगानीकर्ताहरु, आम संचार माध्यम, नियामक निकायहरु र सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस