Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १६ : ४६ मा प्रकाशित

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । 

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा समेत छलफल गरिएको जानकारी दिए । 

“शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उनले भने, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।”

मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । “१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन”, उनले भने, “अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।”

छ लाख पुग्ने प्रक्षेपण
मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दैगए असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ” उनले भने । 

उनले सङ्क्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । “गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौं” उनले भने, “मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौं ।”

मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए । उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको