Like us!
Follow us!
Connect us!
Watch us!

संसदद्वारा २.७ अर्ब डलर अन्तर्राष्ट्रिय ऋण लिने प्रस्ताव स्वीकृत

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १४ : ४२ मा प्रकाशित

संसदद्वारा २.७ अर्ब डलर अन्तर्राष्ट्रिय ऋण लिने प्रस्ताव स्वीकृत

नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा आएको उतारचढाब र कोभिड–१९ महामारीका कारण प्रभावित अर्थव्यवस्थालाई सहयोग पुर्याउन नाइजेरियाले ऋण लिन लागेको हो ।

सिनेटले अनुमोदन गरेको रकममध्ये १.५ अर्ब डलर बिदेशी दातृ निकायबाट ऋण लिइने छ भने ९९ करोड ५० लाख युरो विश्व बैंक, ब्राजिलको एक्सपोर्ट–इम्पोर्ट बैंक र डच बैंकबाट ऋण प्राप्त हुनेछ । 

अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको नाइजेरियाको कच्चा तेलको मूल्यमा आएको गिरावटले आर्थिक वृद्धिमा असर पुगेको छ । अफ्रिकी महादेशको सबैभन्दा ठूलो तेल उत्पादक मुलुक नाइजेरियाले विदेशी मुद्रा आयको झण्डै ९० प्रतिशत कच्चा तेल बिक्रीबाट प्राप्त गर्ने गरेको छ । 

अर्थमन्त्री जैनाब अहमदले अत्यावश्यकीय पूर्वाधार निर्माणका लागि विदेशी ऋण लिनु परेको बताएका छन् । मार्च २०२० मा सांसदहरुले राष्ट्रपति बुहारीको अनुरोध गरेबमोजिम २२.७ अर्ब डलर विदेशी ऋण लिन पनि स्वीकृति जनाएका थिए । यसमध्ये १७ अर्ब डलर चीनको एक्जिम बैंकले उपलब्ध गराएको थियो ।

विश्वव्यापी तेलको मूल्यमा सन् २०१६ मा गिरावट आएसँगै देशभित्र सञ्चालित योजनाहरु अघि बढाउन नाइजेरियाले विदेशबाट ठूलो परिमाणमा ऋण लिनु परेको हो । 

पश्चिम अफ्रिकी मुलुक नाइजेरिया सन् २०२० मा कूल गार्हस्थ्य उत्पादनमा निरन्तर गिरावट आएपछि अर्थतन्त्रमा मन्दीको अवस्था सिर्जना भएको थियो । तर सन् २०२१ को फेब्रुअरीदेखि अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको