बिगत १ बर्षदेखि आफ्ना काम छोडेर निरन्तर जनचेतनामा लागिरहेको यहाँहरुलाई अवगत नै छ | मैले यो नितान्त सामाजिक भावनाले लागिपरेको हो । कोरोना महामारी नयाँ भएको र यसको अनुसन्धान हुँदै गरेको हुनाले पुराना धारणा परिवर्तन हुने एबम नयाँ धारणा स्थापित हुने क्रम चलिरहेको छ तसर्थ WHO, CDC लगायतका संस्थाका धारणा परिवर्तन भइरहेकाछन् । यो जनस्वास्थ्य तथा बिज्ञानको लागि नौलो बिषय हैन ।
मैले पनि महामारीको सुरुदेखिका धारणा व्यक्त गर्दै आएको थिएँ । गतसाल कोरोना महामारी सुरु हुँदा आम नागरिक निकै आत्तिएको अवस्था थियो । तर हामीकहाँ संक्रमण निकै कम थियो त्यस्तो बेला मनोबल बढाउने काम गर्नु स्वास्थ्यकर्मीको दायित्व थियो, त्यो निभाउने प्रयास गरेको थिएँ ।
बेलायतको नयाँ प्रजाति पहिले ७० % बढी फैलिने तर मृत्युदर कम भएको भनेर धेरै रिसर्च पेपरले उल्लेख गरेका थिए दोस्रो लहर आउन सक्छ भनेर बर्षभर जनचेतनामा निरन्तर लागेको थिएँ । अहिले फैलिएको प्रजाति बेलायतको मात्र नभएर अफ्रिका, ब्राजिल तथा भारतमा पटकपटक म्युटेसन भएको भाइरसको कारण हो । बेलायतमा पछि म्युटेसन भएर त्यसको शक्तिमा घटबढ भएको अध्ययनले देखाएका छन् ।
स्वाभाविक रुपमा बालबालिका तथा युवामा रोगप्रतिरोधी क्षमता दीर्घबिरामी तथा जेष्ठ नागरिकमा भन्दा धेरै हुन्छ भन्ने संक्रमण दर र मृत्युदरले प्रमाणित गरिसकेका छन् ।
हरेक व्यक्तिको जिन अलौकिक हुन्छ । त्यो नै व्यक्तिको पहिचान हो । मेरो सम्पूर्ण जेनेटिक स्वभाव कुनै व्यक्तिसंग हुबहु हुँदैन । यो सांकेतिक भनाइ थियो । हाम्रो खानपान, रहनसहन, बसाइ, भौगोलिक अवस्थिति, हावापानी, जीवनशैली आदि बिकसित देशमा भन्दा फरक छ । यसैले पनि हाम्रो देशको सबै ठाउँ अन्यत्र जस्तो बिष्फोटक अवस्थामा पुग्दैन ।
आतंकको आंधी चलेको त्यो समयमा धेरै जना संक्रमित र मृत हुन्छन् भनेर भन्नु मेरो धर्मले दिंदैन । तत्कालिन परिस्थिति अनुसार नागरिकको मनोबल नखस्किनेगरि लेख्नु हाम्रो कर्तब्य हो । तर सम्बन्धित निकायमा मैले नियमित रुपमा अपडेट गराइरहेको थिएँ । संक्रमण र मृत्यु जनस्वास्थ्यको मापदण्ड पालना, इम्युनिटी पावर, उपचार, खोप, भाइरसको म्युटेसनको प्रकारमा भर पर्दछ । सबै ठाउँबाट दीर्घबिरामी र जेष्ठ नागरिकलाई जोखिम भनिरहँदा उहाँहरुको मनोबल कस्तो थियो होला ? मनोविज्ञानको विद्यार्थीको नाताले पनि मैले मानसिक सपोर्ट दिनु मेरो कर्तब्य थियो र हुन्छ ।
आत्मबल जुनसुकै अवस्थाको लागि पनि बलियो पिल्लर हो । त्यसमा कुनै बिबाद छैन । आत्मबलको लागि विश्वका लाखौँ जनशक्ति आआफ्ना उपायबाट क्रियाशील छन् मनोबिद, सामाजिक कार्यकर्ता, योग/ध्यान/मोटिभेसनल स्पिकर आदि म पनि त्यसको अंग हुँ ।
मेरो निरन्तर अध्ययन, अपडेट तथा निस्वार्थ रुपमा रातदिन खटाइको कारण मैले लेखेका सामग्री प्रचारप्रसार हुनु स्वाभाविक हो । यसैपनि म भूकम्प, बाढी लगायतका समस्याको बेला सकेसम्म जोखिम मोलेर खटेको थिएँ ।
मलाइ कुनै चर्चाको आबश्यकता छैन म सेलिब्रेटी बन्नु पनि छैन म मनदेखि लेखक हुँ । १२ वटा साहित्यिक पुस्तक प्रकाशित छन् अन्य पनि लेखिरहेको छु । भविष्यमा पनि सामाजिक काम र साहित्यमै जीवन बिताउने मेरो लक्ष्य छ । मेरा स्टाटस भाइरल हुनुमा मेरो कुनै भूमिका हुँदैन ।
निस्वार्थ काम गरेको व्यक्तिमाथि अनेक टिप्पणी हुन्छन् यसलाई मैले स्वाभाविक रुपमा लिएको छु ।
जहाँसम्म म कसरी जनस्वास्थ्यविद भएँ ? भन्ने सवाल छ, मैले जनस्वास्थ्य विषयमा बंगलादेशबाट उपकुलपति स्वर्णपदक सहित सन् २००७ मा उत्तीर्ण गरेको हुँ । नेपाल सरकार अन्तर्गतको नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा मेरो Specialization Council number 379 Jana PH हो । जनस्वास्थ्यविद, भाइरोलोजिस्ट लगायतका दर्ता यहि काउन्सिलमा हुनुपर्दछ | महामारी, सरुवा रोग, नसर्ने रोग आदिको रोकथाम र नियन्त्रणमा Public Health को भूमिका विश्वव्यापी हुन्छ नै । यो बाहेक NAMC, NHPC ( Trad & Gen Medicine ) लगायतका काउन्सिलमा दर्ता भएर सेवा प्रदान गरेको थिएँ । म जुन जुन काउन्सिलमा दर्ता भएको छु, ती काउन्सिलमा दर्ता भएका व्यक्तिहरुद्वारा नै नेपाल सरकारले ठूलो योगदान पाएको छ ।
कुनै कुण्ठा, इर्श्या तथा अन्य बिबिध नकारात्मक सोंचका व्यक्ति वा अन्यको भ्रममा नपर्नु हुन आम जनसमुदायमा अनुरोध गर्दछु । म जुनजुन बिषय र डिग्री अध्ययन गरें, सबैमा स्वर्णपदक प्राप्त हुँ यी बाहेक मैले अन्य पोस्ट ग्राजुएट कोर्स पनि गरेर आफ्नो ज्ञानको दायरा फराकिलो गरिरहेको छु । ज्ञान, अनुभव र सिप कुनै बन्धनभित्र कैद हुँदैन यो महामारीको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नु मेडियाको ठूलो धर्म हो प्राय सबै मेडियाले यो धर्म निभाएका छन् । म सबै मेडिया एबम आम जनसमुदायप्रति कृतज्ञ छु | मैले पनि यो महामारीमा चुप लागेर आफ्नो सिर्जनामा लाग्न सक्दथे । मैले आफ्नो ज्ञान, सिप र अनुभव जनहितमा सदुपयोग गरेको हुँ मेरो समय, उर्जा, पारिवारिक जीवन, व्यक्तिगत जीवन यसो नगर्दा आरामदायक हुन्थ्यो । तर म राष्ट्र एबम जनतालाई परेको पीडामा निरपेक्ष भएर बस्न सक्दिन । यहि नै मेरो कमजोरी वा शक्ति हो मेरो महामारी संस्मरणमा बिस्तृत अनुभव लेख्ने नै छु ।
के म कसैको कुण्ठा र इर्श्याको लागि निस्क्रिय बसौं ? आफ्नो व्यक्तिगत काममा मात्र लागौं त ?
के महामारीको रोकथाम र आम समुदायको आत्मबलको लागि ती एकाधको जिम्मा छोडौं त ?
मलाइ लाग्छ, महामारी नियन्त्रणमा सबैको आआफ्नो महत्वपूर्ण भूमिका हुन्छ | जनस्वास्थ्यले जनचेतना, चिकित्सकले उपचार, भाइरोलोजिष्टले अनुसन्धान, बैज्ञानिकले नयाँ तथ्यको अन्वेषण . यो सामुहिक प्रयासले मात्र हामी सफल हुने हो | एकल प्रयास वा विधाले यो लडाई जित्न सकिदैन |
मैले नकारात्मकताभित्र सकारात्मक देख्ने मान्छे हुँ | तसर्थ सबैलाई हार्दिक धन्यबाद !
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस