Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड र नेप्सेबीच जुँगाको लडाईँ सतहमा, बोर्डमा पोलिसी बिनाका जागिरे मात्रै भएको आरोप

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १४ : ३० मा प्रकाशित

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को इगोको विवाद सतहमा आएका छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अर्थसंसार डटकमसँगको कुराकानीमा खुलेर विवादका विषय सतहमा ल्याएका हुन् ।

पूँजी बजार नियामक धितोपत्र बोर्ड र बजार संचालक नेप्सेबीचको बिबाद भित्र भित्रै भुसको आगो जस्तै थियो । नेप्सेले गरेका प्रस्तावहरु अड्काएर बोर्डले काम गर्न नदिएको गुनासो नेप्सेका प्रमुख कार्यकारी अधिकृतले अनौपचारिक कुराकानीमा गर्दै आएका थिए ।
 

अर्थसंसारसँगको कुराकानीमा उनले धितोपत्र बोर्डका पदाधिकारीमा जागिरे प्रबृत्ति हाबी भएको बताए । उनले धितोपत्र बोर्डमा बिज्ञता भएका जनशक्ति नभएको बताउँदै बोर्ड पूँजी बजारको बिकास गर्ने कुनै पनि नीति ल्याउन नसकेको दावी गरे ।

'पोलिसी बोर्डले डेभलप गर्नु पर्छ,' उनले भने, 'त्यसलाई कार्यान्वयन गर्न नसके नेप्सेलाई कारबाही गर्नु पर्छ । पोलिसी पनि नबनाउने, हावातालमा कुरा गर्ने ?' उनले बोर्डलाई हावादारी संस्थाको सज्ञा दिए ।

नेप्सेका प्रमुख कार्यकारी साउदले नेप्से र सिडिएस एण्ड क्लियरिंग लिमिटेडबीच झगडा लगाउने काम पनि धितोपत्र बोर्डले गरेको गंभिर आरोप लगाए । 'सेयरको पारिवारिक स्थानान्तरण नेपाल स्टक एक्स्चेन्जले गर्दै आएकामा बोर्डका पदाधिकारीको नातेदारले सिडिएसलाई दिनु भनेकाले लगानीकर्तालाई सजिलो होला भनेर हामीले दियौं,' साउदले भने, 'अहिलेसम्म सिडिएसले राम्रोसँग काम गर्न सकेको छैन ।'

नेप्सेका प्रमुख कार्यकारी साउदले बोर्डका कारण ब्रोकर थप्न नसकिएको आरोप लगाए । 'ब्रोकर नथप्दा लगानीकर्ताले दुख पाएका छन् । मलाई थाहा छ । लगानीकर्ताले समेत आवाज उठाउनु परयो । संस्थागत ब्रोकर थप्नु पर्यो भनेर । हामीले ब्रोकर थप्नु पर्यो, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनु पर्यो भनेर नेप्सेमा पठाएका छौं । अहिलेसम्म स्वीकृति भएर आएको छैन ।

विदेशमा ब्रोकर कम्पनी चलाउने स्टक एक्स्चेन्जले हो । यहाँ सेवोनले चलाएको छ ।' धितोपत्र बोर्डले अध्ययन गरिहरेका छौं भन्छ नि भन्ने प्रश्नमा उनले भने, 'के अध्ययन गर्नु पर्यो ? नेप्सेले अध्ययन गरेर पठाइसकेको छ । हामीले लगानीकर्ता, ब्रोकर, मचेन्ट बैंकर, बैंकहरु सबैको सल्लाह लिएर अध्ययन प्रतिवेदन सेवोनमा पठाएका हौं । यसमा थप के अध्ययन आवश्यक छ र ?'

यो हेर्नुहोस् : 
राष्ट्र बैंकको निर्देशनले निम्ताएको लगानीकर्ता माथिको धर्मसंकट : अवसर कि दुर्भाग्य?


नेप्सेका प्रमुख कार्यकारी साउदले धितोपत्र ब्यवसायले पनि ब्रोकर थप्न हलो अड्काउने काम गरेको दावी गरे । 'धितोपत्र ब्यवसायीले पनि बीचमा बसेर दही मारेका छन,' नेप्सेका प्रमुख कार्यकारी साउदले भने, 'नेप्सेले टिएमएस उपलब्ध गराएको छ । लगानीकर्ताले युजर नेम र पासवर्ड लिएर कारोबार गरेका छन् । ब्रोकरको के लगानी छ ? अहिले हरेक ब्रोकरको दैनिक २० देखि २५ लाख रुपैयाँ आम्दानी छ । कुन ब्यवसायमा यसरी आम्दानी हुन्छ ?' धितोपत्र ब्यवसायीले फण्ड म्यानेजमेन्टको बाहेक कुनै पनि काम नगरेको उनले दावी गरे ।

धितोपत्र बोर्डले ब्रोकरविहीन कारोबारको अनुमति दिने हो भने आफूहरु अहिले ब्रोकरहरुले लिएको शुल्कको १० देखि १५ प्रतिशतमै प्लेटफर्म उपलब्ध गराउन तयार गरेको साउदले दावी गरे । नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले धितोपत्र बोर्डको काम पोलिसी बनाउने भएको भन्दै ऊ आफैं बिना पोलिसी कार्यान्वयनमा उत्रिँदा समस्या भएको दावी गरे ।

उनले 'धितोपत्र बोर्डले स्टक एक्स्चेन्ज यस्तो हुनु पर्छ भन्ने के पोलिसी छ ?' भनेर प्रश्न गरे । बोर्डमा कुनै पोलिसी नभएको अर्को एउटा उदाहरण दिँदै साउदले भने, 'सेवोनले तपाइँहरुको अडिटको क्राइटेरिया मिलेन भन्यो । हामीले के क्राइटेरिया हो दिनुस् भन्यौं । त्यसपछि हेरेर गर्नुस् भन्नु भयो । के भनेको के हो ?'

नियामक निकाय नेप्सेभन्दा सक्षम हुनु पर्नेमा यहाँ उल्टो भएको उनको दावी छ । 'स्टक एक्स्चेन्ज प्राविधिक रुपमा सक्षम छ, उनले भने, सेवोनको कामै छैन । बुझेकै छैन । के गर्नु ?' सिस्टम हुनु पर्छ भन्नेलाई सिस्टम कस्तो हुनु पर्छ भन्नेसमेत थाहा नभएको भन्दै साउदले बोर्डको कार्यशैलीप्रति रोष प्रकट गरे ।

उनै साउदसँग अर्थसंसारकर्मी कृष्ण भट्टराईले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको