Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीका जनप्रतिनिधिका योजना : पर्यटनदेखि ऊर्जासम्म

बुधबार, १० जेठ २०७४, १५ : ३६ मा प्रकाशित

कास्कीका जनप्रतिनिधिका योजना :  पर्यटनदेखि ऊर्जासम्म

अर्थ संसार, 
पोखरा कास्कीका नवनिर्वा्चित गाउँपालिका प्रमुखले प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने बताएका छन् ।

चुनावी घोषणापत्रमा बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यको उचित प्रबन्ध गर्दै गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरिएकामा निर्वा्चित भएसँगै ती प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानु आफ्नो दायित्व भएको बताए ।

नयाँ संरचनाअनुसार जिल्लामा पोखरा–लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गरी चार गाउँपालिका छन् ।

भौगोलिक अवस्थितिका कारण विशेषतः पर्यटन, कृषि र जलविद्युत् नै यहाँको आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने देखिएको छ । यस क्षेत्रमा रहेका साधन स्रोतको अधिकतम परिचालन गर्दै अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा लैजाने धेरै सम्भावना रहेको गाउँपालिकाका नवनिर्वा्चित प्रमुख युवराज कुँवर बताउनुहुन्छ ।

विकासका लागि सर्वप्रथम गाउँबस्तीका बाटोघाटो निर्माण तथा स्तरोन्नति आवश्यक रहेको बताउँदै उहाँले अन्नपूर्ण गाउँपालिकामा आफूले बाटोघाटो निर्माणका साथै प्रत्येक बस्तीमा खानेपानीको सहज व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण बेसक्याम्पमा वार्षिक ५५ हजार पर्यटक आउने गर्दछन,” उहाँले भन्नुभयो, “सुधारिएका सडक, खानेपानी, शिक्षा स्वास्थ्यजस्ता अत्यावश्यकीय विषयलाई प्राथमिकतामा राखी तत्काल योजनासहित अघि बढ्नेछ ।”

अन्नपूर्ण गाउँपालिकामा पर्यटनको विकासका साथै जलविद्युत् आयोजनाको विकास, जडिबुटीको उपयोग आदिले यही स्वरोजगार अभिवृद्धि गर्न सकिने सम्भावना रहेका कारण यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने उहाँले बताउनुभयो । 

विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग ‘राउन्ड अन्नपूर्ण’ पदमार्गको अधिकतम भू–भागमा पर्ने यो गाउँपालिकामा नयाँ पुलदेखि बिरेठाँटी, तिखेढुङ्गा घोडेपानी मुक्तिमार्ग निकै चर्चित पदमार्ग हुन् । यहाँका अन्य पदमार्गका साथै घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, वीरेठाँटी, नयाँ पुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथना जस्ता ठाउँ तथा गाउँ पर्यटकलाई लोभ्याउने खालका छन् ।

चार हजारदेखि आठ हजार मिटर माथिसम्मका यहाँका अन्नपूर्ण पहिलो, अन्नपूर्ण साउथ, हिउँचुली, बराहचुली, सिन्गुचुली, पातलचुली, टेन्ट पिक (थर्पुचुली), खयर बराहजस्ता हिमालको उपयोग गर्न सके पनि यो गाउँपालिका समृद्ध बन्नसक्ने देखिन्छ । 

जडिबुटीको प्रचुर सम्भावनायुक्त यहाँ पाँचऔंले, सतुवा, वन लसुनजस्ता जडिबुटी पाइन्छन् भने डाँफे, मुनाल, घोरलजस्ता चरचर र जीवजन्तु पाइन्छन् । कास्कीको प्राकृतिक स्रोत साधनले राम्रो सम्भावनायुक्त गाउँपालिका मादी हो ।

यहाँको विकासका लागि बाटो तथा पुल–पुलेसा निर्माण गर्नु अपरिहार्य भएको गाउँपालिकाका नवनिर्वा्चित प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले बताउनुभयो । “बाटोका कारण तत्कालीन अवस्थामा गाउँपालिकाका सबै वडाबाट सेवा केन्द्रमा आउन पनि समस्या छ,” उहाँले भन्नुभयो, “बढीमा एक घन्टाभित्रमा प्रत्येक वडाबाट सेवा केन्द्रमा आउनसक्ने गरी बाटो निर्माण तथा स्तरोन्नतिलाई तत्कालीन प्राथमिकतामा राखिने छ ।”

गाउँपालिकाभित्रका कतिपय ठाउँमा सोलारका साथै लघुजलविद्युत्को प्रयोगबाट मात्र विद्युत् सञ्चालन भएको बताउँदै उहाँले सबै गाउँ तथा बस्तीमा विद्युत्को केन्द्रीय प्रशारण लाइनबाट विद्युत् दिने तथा सूचना तथा प्रविधिको सहज पहुँच उपलब्ध गराउने योजना राखेको बताउनुभयो ।

पर्यटन र जलविद्युत्को पर्याप्त सम्भावना रहेको यस गाउँपालिकाभित्र सिक्लेस, ताङ्तिङ, याङजाकोट, नागिधार, बारचोक, भाचोक, तप्राङजस्ता पर्यटकीय गाउँ छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर यसै गाउँपालिकामा पर्छ भने पर्यटकीयस्थल दूधपोखरी पनि यही गाउँपालिकामा पर्छ ।

सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, बारचोक, याङजाकोट, ताङ्तिङदेखि सिक्लेससम्मको पदमार्ग यहाँको विशिष्ट पद्मार्ग हो भने विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल पनि यहीँ पर्दछ ।

गाउँपालिकाको सबै वडा भएर बग्ने मादी विद्युत् निकाल्नका लागि अत्यन्त सम्भावना युक्त नदी हो । गाउँपालिकाभित्र पाँचऔंले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडिबुटीको अधिकतम उपयोग पनि यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण सहयोगी बन्ने देखिन्छ ।

पोखराको विशिष्ट आकर्षण माछापुच्छ्रे हिमाल अवस्थित माछापुच्छ्रे गाउँपालिकाको समृद्धिका लागि यहाँको पर्यटन, जलविद्युत्, कृषि आदिको विकासलाई प्राथमिकतामा राख्ने नवनिर्वा्चित प्रमुख कर्ण गुरुङको लक्ष्य छ ।

गाउँपालिकामा बाटोघाटो निर्माणका साथै खानेपानी प्रमुख समस्या रहेका कारण यस विषयलाई आफूले पहिलो प्राथमकितामा राखेको बताउँदै गुरुङले उपलब्ध प्रकृतिप्रदत्त सम्पदालाई उपयोग गर्दै विकासका योजना अघि बढाउने बताउनुभयो ।

“गाउँपालिकावासीका आधारभूत आवश्यकताका रुपमा रहेको बाटो निर्माणका साथै आगामी दुई वर्ष्भित्रमा एक घर एक धाराको अभियानलाई सफल बनाउने छु,” उहाँले भन्नुभयो, “स्थानीयवासीलाई सक्षम बनाउनका लागि मानव स्रोत विकासका योजनासहित कृषिको व्यवसायीकरण तथा विकास आदि योजना अघि बढाइने छ ।”

यस गाउँपालिमा रहेका मिर्सागाउँ र धम्पुसको हेमजाकोट तथा घाचोक गाविसका केही गाउँ होम स्टेका लागि प्रख्यात गाउँ हुन् ।यहाँका घाचोक–कोर्जा, रिभान–कोर्जा, धम्पुस–अष्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प जस्ता पदमार्ग आम्दानीको महत्वपूर्ण आधार बन्नसक्ने देखिन्छ । यहाँका घाचोक, माछापुच्छ्रे, ल्वाङघेल, धम्पुस र सार्दीखोला जडिबुटीका लागि प्रसिद्ध छन् भने टुसाको व्यापार पनि आय–आर्जनको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।

यहाँका मार्दी, सेती र लस्ती तीनवटै खोला विद्युत् उत्पादनका लागि महत्वपूर्ण नदी हुन् । रुपा तालबाट नामाकरण भएको रुपा गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो ।
गाउँपालिकामा बाटोघाटोका साथै खानेपानीको चरम समस्या रहेको नवनिर्वा्चित प्रमुख नवराज ओझाको भनाइ छ । “गाउँपालिकाको केन्द्रसम्म जोड्ने बाटो तत्काल निर्माण गर्नु अपरिहार्य छ, यहाँ खानेपानीको पनि उस्तै समस्या छ, ”– उहाँले भन्नुभयो,“ उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै गाउँपालिकालाई समृद्ध बनाउने सोंचमा छु ।”

कृषिको व्यवसायीकरण गर्नु आवश्यक रहेको बताउँदै उहाँले गाउँपालिकाभित्र पशु बिमा कार्यक्रम अघि बढाउने बताउनुभयो । तुलनात्मक रूपमा जिल्लाका अन्य गाउँपालिका भन्दा स्रोत साधन कम भए पनि पर्यटन र कृषिका माध्यमबाट यसको विकास गर्न सकिन्छ । रूपा ताललाई पर्यटकीय रुपका साथै माछापालन, जलविद्युत् आदिमा उपयोग गर्ने पर्याप्त सम्भावना यहाँ रहेका छन् ।

उपलब्ध वन पैदावरको अधिकतम उपयोगका साथै यहाँस्थित चिसापानीको देवी मन्दिर, हंसपुरको स्याक्लुङकोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भीरचोक कोट, बराहाथोकको काल भैरव मन्दिर आदि स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छन् । बेलायती राजकुमार चार्लसले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोटजस्ता पदमार्ग पनि यहाँका आकर्षण हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको