ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित संघीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण संकलन सुरु भएको छ । संघीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलन अघि बढाइएको हो ।
भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका संघीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए ।
त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती संघीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालयमा नेपाली सेनाले सुरक्षा दिएको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर भित्र प्रवेश दिइएको छ । संघीय सचिवालयले क्षति विवरण नआएसम्म सरसफाइलगायतका कार्य अघि नबढाइने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस