अहिले सेयर बजार घटीरहेको अवस्था छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि लगातार रुपमा बढेर ३००० विन्दु माथि पुगेको बजार अहिले २७५० विन्दुको वरीपरी घुमिरहेको छ । सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि निरन्तर गिरावट आइरहेको छ । ३००० विन्दुमा परिसूचक रहेको बेला २१ अर्ब माथिको सेयर खरिद बिक्री भएको थियो । तर अहिले बजारमा दैनिक ४–५ अर्बको मात्रै कारोबार भइरहेको छ ।
बजार घटीरहेको अवस्थामा अब हिन्दु नेपालीहरुको महान चाड दशैँ मुखैमा आइसकेको अवस्था छ । आजको ३० दिन पछि नेपालीहरुको महान चाड दशैँको टिका रहेको छ । दशैँको नजिकमा सधै बढ्ने बजार अब एक महिना बाँकी रहँदा के होला भन्ने आम चासो पनि बढीरहेको छ । ३००० विन्दुबाट घटेर २७०० को आसपासमा नै खेलिरहेको बजारले अबका केही कारोबार दिनमा नै फर्केर बढ्ने क्रमलाई आत्मसाथ गर्ला भन्ने कुरामा लगानीकर्ताहरुकै फकर फरक मत आएको छ ।
केही लगानीकर्ताहरुले दशैँ अघि बजार बढ्न सक्ने बताएका छन् भने केहीले अहिलेकै अवस्थामा बजार दशैँ अघि फर्किने सम्भावना निकै कम रहेको बताएका छन् । नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाला रौनियार दशैँ अघि बजार बढ्ने बताउँछन् । बजार घट्नु पर्ने कारण केही पनि नरहेकाले बजार बढ्नु पर्ने उनको भनाइ छ । उनले अहिलेकै अवस्था लम्बिएमा भने बजारले सोचेजस्तो गति नलिन पनि सक्ने उनले बताए ।
बजारको नेचरनै बढेपछि घट्ने र घटेपछि बढ्ने भएकाले दशैँ अघि बजार बढ्न सक्ने अर्का लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । ‘मौद्रिक नीति आए पछि बजार बढ्यो । अहिले बजार घटेको छ । अब फेरि दशैँ अघि बढ्न पनि सक्छ,’ उनले भने । अहिलेको अवस्थामा दशैँमा बजार बढ्छ नै भनेर भन्न सकिने अवस्था नरहेको लगानीकर्ता सुवासचन्द्र भट्टराईको भनाइ छ । उनले अहिले बजार घट्नु पर्ने कारण नै नरहेको अवस्थामा बजार घटेकाले दशैँ अघि निश्चित रुपमा बढ्न भनेर भन्न नसकिने बताए । अहिले बजारलाई बढ्नका लागि आवश्यक सबै सूचक सकारात्मक रहेको भन्दै साउनमा नै बजार ३२०० विन्दु माथि पुग्नु पर्ने उनको भनाइ छ । ‘बजार साउनमै ३२०० विन्दु माथि पुग्नु पर्ने थियो । तर त्यसो हुन सकेन । यो अवस्थामा दशैँ अघि बजारले गति लिन्छ भनेर भन्न सकिदैन’ उनले भने ।
त्यस्तै लगानीकर्ता राधा पोखरेलले पनि बजार तत्काल स्थिर हुन सक्ने अवस्था नरहेको बताइन् । अहिले घट्नु पर्ने कारण केही नभएको अवस्थामा बजार घटेकाले बढ्छ नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । बजार स्थिर हुनका लागि अझै केही समय लाग्ने उनको भनाइ छ । दशैँ अघि पुँजी बजारको घट्दो क्रम रोकिएर बढ्ने सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलको भनाइ छ । एउटा अंक तोकेर भन्न नसकिए पनि बजार एउटा रेन्जमा पुग्ने उनको भनाइ छ । केही कुरामा अबको मौद्रिक नीतिको समीक्षाले पनि सहज बनाउनु पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस