Like us!
Follow us!
Connect us!
Watch us!

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने

पत्रपत्रिका

सोमबार, २१ भदौ २०७८, ०७ : ०६ मा प्रकाशित

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने

मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो ।

टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ । खानेपानी मन्त्रालयले उक्त भूभाग जोखिमयुक्त रहेको भन्दै एडीबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयका अनुसार यताबाट पठाइएको टीओआर स्वीकृत भएको पत्र एडीबीले पठाइसकेको छ । एडीबीको टोली अध्ययन गर्न आउने बाटो खुलेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । ‘बढीमा १ साताभित्र विज्ञ टोली आइपुग्नेछ,’ उनले भने, ‘त्यसपछि मेलम्ची खानेपानी आयोजनाको अध्ययन हुनेछ ।’

हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आआफ्नो हिसाबले अध्ययन गरिरहेका छन् । तर, खानेपानी मन्त्रालयले भने एडीबीबाटै अध्ययन गराउन खोजेको हो । एडीबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो ।

मेलम्चीमाथिको भूभागमा वर्षौंदेखि हिमपहिरोले ल्याएर थेग्रिनी जम्मा गरेको देखिएको छ । हाल त्यही थेग्रिनी बगेर मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ । मेलम्ची नदीमा बाढी आउँदा हेडवक्र्स, दुईओटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ । उक्त क्षति पूर्ति गरी अस्थायी रूपमा खानेपानी काठमाडौं झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी आयोजनाले मन्त्रालयमा पेश गरेको छ ।

गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ । उक्त बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ । त्यसले मेलम्ची खानेपानी आयोजना स्थललाई क्रमशः क्षति पुर्‍याइरहेको छ । बाढीले हेडवक्र्समै क्षति पुगेको र आंकलन गरेभन्दा ठूलो क्षति पुगेकाले परियोजना कहिले सम्पन्न हुन्छ यकिन हुन नसकेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापनामा नेपाली सेनालाई खटाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले काम बाँडेर गर्न योजना प्रस्ताव गरेको हो । ‘सबै काम सेनाले मात्रै गर्ने होइन, खासखास काम बाँडेर गर्न खाका बनाएका हौं,’ उनले भने, ‘धेरै समय लागेको र वैदेशिक ऋणसहितको ठूलो लगानी भएको आयोजना हो, ठप्प भइरहँदा चुप लागेर बस्न मिल्दैन । त्यसैले पुनःस्थापना योजना तयार पारिएको छ ।’ समितिका अनुसार आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरू समेत बाढीले बगाएको छ ।

धेरै संरचना पुरिएका छन् । उक्त संरचनाको पुनर्निर्माणका लागि सिनो हाइड्रो र नेपाली सेनालाई जिम्मा दिने योजना समितिको छ । यसअन्तर्गत अम्बाथान क्याम्पको पुनः निर्माण, मेलम्ची बजारस्थित मुख्य क्याम्पहरूको मर्मत तथा क्याम्पहरूमा आवश्यक खानेपानी, विद्युत्, सरसफाइजस्ता सेवाहरू सञ्चालन गरिने पन्तले बताए ।

(याे समाचार आजकाे आर्थिक अभियानमा सुन्दर शिरीषले लेखेका छन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको