Like us!
Follow us!
Connect us!
Watch us!

के गगनको नेतृत्वमा चुनावमा जाँदैछ काँग्रेस ?

बसन्त पाण्डे

आइतबार, ०४ पुस २०७८, १४ : ५१ मा प्रकाशित

के गगनको नेतृत्वमा चुनावमा जाँदैछ काँग्रेस ?

भर्खरै सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट अत्याधिक  मतसहित गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित भए। लोकप्रिय मतका साथ अर्का प्रभावशाली नेता विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा चुनिए ।  डाक्टर शेखर कोइराला प्यानलबाट गगन थापासहित बहालवाला रक्षामन्त्री मिनेन्द्र रिजाललाइ महामन्त्रीको उम्मेदवार बनाइएकोमा सभापतिमा शेखर कोइरालाको पराजयसँगै कतै गगन थापा नै पो पराजित हुने हुन् कि भन्ने उनका शुभचिन्तकहरुको चिन्तालाई पन्छ्याउँदै अत्यधिक मतका साथ उनी महामन्त्रीमा चुनिए।  त्यस्तै प्रकाशमान सिंह प्यानलबाट उम्मेद्वारी दिएका विश्वप्रकाशले पनि लोकप्रिय मतसहित जीत हात पारेपछि आम कांग्रेसी नेता कार्यकर्ता रुपान्तरणको पक्षमा रहेको कुरा स्पष्ट रुपमा बाहिर आएको छ।  सधै नेताको आशिर्वाद र पैसाको भरमा मात्रै चुनाव जितिदैन र चुनाव जित्न मतदाताको मन पनि जित्न सक्नुपर्छ भन्ने कुरालाइ पनि यी दुइ आशालाग्दा नेताको जितले पुष्टि गरेको छ।   

यसपालिको कांग्रेसको अधिवेशनलाई धेरैले एकदमै चासोका साथ हेरेका थिए। कांग्रेसका कार्यकर्ताहरु त आफ्नो पार्टीको अधिवेशनमा उत्साहित हुने नै भए तर अन्य पार्टीका कार्यकताका साथै राजनीतिमा खासै चासो नदिने र कुनै पार्टीमा पनि संलग्न नभएकाहरुको ठुलो जमात पनि यो अधिवेशन प्रति उत्सुक थियो।  चासोका केन्द्रबिन्दु थिए: गगन थापा।  यसअघिको अधिवेशनमा पनि महामन्त्री पदमै उम्मेद्वारी दिएका उनी त्यो बेला पराजित भएका थिए।  विशेषगरी उनी  स्वास्थ्यमन्त्री हुँदा गरेका कामहरुबाट आम जनतामा निकै राम्रो संदेश गएको छ। पद पाउनु अघि आदर्श र परिवर्तनका कुरा गर्ने नेताहरु पनि सत्तामा पुगेपछि पथभ्रष्ट भएका थुप्रै उदाहरणहरु छन।  कतै गगन थापाको केसमा पनि त्यहि हुने त होइन भनी शसंकित हुनेहरुलाई उनले आफ्नो स्वास्थ्य मन्त्रीको कार्यकालमा गगन थापा बोल्ने मात्र होइन काम गरेर देखाउने   मान्छे हो भन्ने कुरा प्रमाणित गरिदिए। 

गगन थापा पार्टीभित्र मात्र होइन आम जनतामाझ पनि उत्तिकै लोकप्रिय छन।  उनी कांग्रेस महामन्त्रीमा निर्वाचित भएसँगै सामाजिक संजाल तातेको छ। कांग्रेससँग कुनै साइनो नरहेका थुप्रैले उनलाई बधाई दिएका छन।  हुन पनि नेपाली कांग्रेसमा सभापति पछि महामन्त्रीको पद आकर्षक र शक्तिशाली मानिन्छ।  कुनै बेला गणेशमान सिंह र गिरिजा प्रसाद कोइराला जस्ता नेताहरु पनि महामन्त्री थिए। गिरिजा प्रसाद त्यसपछि पटक पटक पार्टी सभापति र प्रधानमन्त्रि भए भने गणेशमान सिंहलाइ नेपाली राजनितिका लौह पुरुषको रुपमा सम्मान गर्ने गरिन्छ।  गगन थापा महामन्त्रीमा निर्वाचित भएसँगै अब आउने अधिवेशनमा उनलाई पार्टी सभापतिको रुपमा विश्लेषण गर्नेहरु पनि धेरै छन।  त्यस्तै उनलाई आगामी प्रधानमन्त्रीको रुपमा देख्न चाहनेहरु पनि थुप्रै छन।  

मुलुकमा १ वर्षको अवधिभित्र स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद गरी तीनवटा निर्वाचन हुँदै छ।  अहिलेको राजनीतिक समीकरण हेर्दा आउने चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा प्रतिष्पर्धा हुने देखिन्छ।  साविकको एमाले फुटेर दुइवटा दल ( नेकपा एमाले र नेकपा समाजवादी) भएसँगै आगामी निर्वाचनमा नेकपा एमालेको यस अघि जस्तो राम्रो मत नआउन सक्ने सम्भावना देखिन्छ।  अर्को महत्वपूर्ण कुरा भनेको दुइ तिहाइको बहुमत भएको सरकारलाइ पनि राम्रोसँग चलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई अघि बढाउन सक्दैनन भन्ने संदेश पनि जनमानसमा स्पष्ट रुपमा गैसकेको छ।  नेकपा माओवादीको कुरा गर्दा उसको जनाधार फितलो बन्दै गएको र यो चुनावबाट माओवादी थप कमजोर हुनसक्ने आंकलन पनि धेरैले गरिसकेका छन।  

आउने निर्वाचनमा यदि नेपाली कांग्रेस  गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर  भिड्यो भने के होला ? हामीले १०० जना भन्दा बढी विभिन्न क्षेत्र र विभिन्न पेशाका व्यक्तिहरुलाई सोध्दा ९० प्रतिशत भन्दा बढी व्यक्तिहरु यो प्रश्न बाटै उत्साहित बने।  गगन थापा जस्तो व्यक्तिको नेतृत्व यो देशले पाउनु पर्छ भन्ने उनीहरुको भनाइ रहेको थियो।  नेपाली कांग्रेसको आफ्नै सदाबहार मतदाता त छँदै छन, यदि गगनलाइ प्रधानमन्त्री बनाउछौ भनेर कांग्रेस चुनावमा आएको खण्डमा अन्य थुप्रै मतदाताहरुको मत पनि नेपाली कांग्रेसले पाउने सक्ने सम्भावना बढेर जानेछ।  

हुनत शेर बहादुर देउवाको ज्योतिषले नै उनलाई ७ पटक प्रधानमन्त्री बन्ने योग छ भनिसकेको अवस्थामा चुनाव जितेर आफै प्रधानमन्त्री बन्न छोडेर शेर बहादुरले  गगन लाइ प्रधानमन्त्री बनाउलान र भन्ने प्रश्न उठ्न सक्छ। तर, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा विभिन्न दलहरुले लोकप्रिय  नेतालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव लडेको इतिहास छ।  यसअघि गिरिजा प्रसाद कोइराला पार्टी सभापति भएको बेला  तत्कालिन अवस्थाका लोकप्रिय नेता कृष्ण प्रसाद भट्टराईलाइ प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव लडेको इतिहास कांग्रेस भित्रै छ भने लालकृष्ण आडवानी अध्यक्ष हुँदै गर्दा नरेन्द्र मोदीको बढ्दो लोकप्रियता देखेर पार्टीमा अरु बरिष्ठ सदस्यहरु हुँदा हुँदै पनि नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर भारतीय जनता पार्टी चुनाव लडेको र शानदार जीत हात परेको उदाहरण हाम्रो छिमेकी देश भारतमा पनि छ।  

महामन्त्रीको उम्मेद्वारी दिंदै गर्दा गगन थापाले एउटा राजनीतिक कार्यक्रम सार्वजनिक गरेका छन , 'समुन्नत नेपाल, सम्मानित नेपाली' नामको।  उनको त्यो कार्यक्रममा प्रस्तुत अवधारणलाइ राम्ररी अध्धयन गर्ने हो भने गगन एक राम्रो वक्ता र कुशल संगठक मात्र नभएर एक कुशल योजनाकार र अवधारणाकार पनि हुन् भन्ने पुष्टि हुन्छ।  आफुले बनाएका योजना र बोलेका कुराहरु पुरा गर्न आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्ने स्वभावका थापालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव लडेको खण्डमा नेपाली कांग्रेसले ऐतिहासिक जीत हासिल गर्न सक्ने सम्भावनालाइ धेरैले स्वीकारेका छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको