Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको बोनस सेयर सूचीकृत, १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १८ : १६ मा प्रकाशित

१. सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २९० रूपैयाँमा कूल एक करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३ गते, शुक्रबार सेबाेनमा निवेदन दिएकाे हाे ।

२. नेपाल स्टक एक्सचेञ्जमा आइतबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज सिद्धार्थ बैंक लिमिटेडको १२.५० प्रतिशत बोनसबापतको १ करोड ५६ लाख ५५ हजार ५ सय ३३ दशमलव ५४ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनसबापतको छ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

३. नेपालमा माओवादी नेतृत्वको सरकारले घोषणा गरेको राष्ट्रिय सहिदको सूचीमा एकजना जिउँदा मान्छे पनि परेका छन् । उनी डोटीका चक्रबहादुर मटेली हुन् । चक्रबहादुरको नाम डोटी जिल्लाको सहिदको सूचीमा ४२औं नम्बरमा छ । उनले २००२ मा ज्यान गुमाएको भनिएको छ । चक्रबहादुरको घाँटी, मुख र पाखुरा गरी ३ ठाउँमा गोली लागेर हातखुट्टा राम्ररी चल्दैनन् । तर उनी जिउँदै छन् ।

४. २० लाखमुनीको ॠण मिनाहा हुनुपर्छ भन्दै बैंक तथा वित्तीय क्षेत्रलाई नै चुनौति हुने गरी अराजक गतिविधी फैलाइरहेका व्यवसायी दुर्गा प्रसाईं आफैँले गैरकानूनी रूपमा अर्बौँको ॠण लिएको खुलासा भएको छ ।  महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा प्रसाईंले ऐन विपरित ॠण लिएकाे उल्लेख छ । प्रसाईंको स्वामित्वको बीएन्डसी अस्पतालले आठ करोडको जग्गा धिताे राखी एक अर्ब ७४ करोड ऋण लिएकाे पाइएकाे हाे ।

५. बैंकहरुले कर्जाको विज्ञापन गर्न थालेका छन् । अघिल्लो महिनासम्म पनि आकर्षक योजनासहित मुद्दति निक्षेपको विज्ञापन गरिरहेका बैंकहरुले अहिले विभिन्न कर्जा योजनाहरु सार्वजनिक गर्न थालेका हुन् । पछिल्लो समय बैंकहरुमा निरन्तर डिपोजिट बढिरहेको छ तर कर्जा लिन भने कोही व्यवसायीहरु पनि आकर्षित देखिँदैनन् । अहिले लगानीका सबै क्षेत्रहरु अस्तव्यस्त अवस्थामा हुँदा पनि बैंकहरुको कर्जा बिस्तार प्रभावित भइरहेको छ ।

६. नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताउँदै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिएका हुन् । 

७. नेपाल स्टक एक्सचेञ्जका निवर्तमान सीईओ चन्द्रसिंह साउदले अहिलेकाे अवस्थामा दाेश्राे बजारमा लगानीकर्ताले मूल्य घटाउँदै सस्ताेमा सेयर किनिरहेका बताएका छन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । लगानीकर्ताहरूले  मूल्य घटाउँदै सेयर लिँदै घटाउँदै लिँदै बिस्तारै स्लाे पाेजिसनमा मार्केट चलिरहेकाे उनी बताउँछन् । 

८.  सुनको भाउले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनकाे भाउ ताेलामा २९ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

९. साताको पहिलो कारोबार दिन आइतबार बजार घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० प्रतिशतले घटेर १९ सय २६ दशमलव ४० विन्दुमा झरेको छ । यस दिन कुल २ सय ५९ वटा कम्पनीको ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको