Like us!
Follow us!
Connect us!
Watch us!

बीमा र धितोपत्र कसुर मुद्दाकी फरार अभियुक्त मृदुला सरिया प्रहरी नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, ०८ साउन २०८३, ०८ : २७ मा प्रकाशित

बीमा र धितोपत्र कसुर मुद्दाकी फरार अभियुक्त मृदुला सरिया प्रहरी नियन्त्रणमा

क्रेष्ट माइक्रो इन्स्योरेन्सकी पूर्व सञ्चालक मृदुला सरियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको छ। उनी बीमा तथा धितोपत्रसम्बन्धी कसुरका मुद्दामा फरार अभियुक्तका रूपमा खोजी सूचीमा रहेकी थिइन्।

नेपाल सरकारले बीमा ऐन अन्तर्गत दर्ता गरेको मुद्दामा हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक दीपक भट्ट, सुलभ अग्रवालसहित ४१ जनाविरुद्ध अभियोग दायर गर्दा सरियालाई पनि प्रतिवादी बनाइएको थियो। अभियोग दायर हुनुअघि नै उनी सम्पर्कविहीन भएकाले सरकारी पक्षले उनलाई फरार अभियुक्तका रूपमा उल्लेख गरेको थियो।

प्रहरी अनुसन्धानका आधारमा गत जेठ २८ गते बीमा सम्बन्धी कसुरमा दायर गरिएको अभियोगपत्रमा पनि सरियालाई फरार प्रतिवादीका रूपमा समावेश गरिएको थियो। यसबाहेक उनीविरुद्ध धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा समेत काठमाडौं जिल्ला अदालतमा छुट्टै अभियोग दर्ता भएको छ।

जग्गा खरिद प्रकरणसँग पनि जोडिएको आरोप

मृदुला सरियाको नाम क्रेष्ट इन्स्योरेन्स ब्रोकरको नाममा गरिएको झापास्थित जग्गा खरिद प्रकरणसँग पनि जोडिएको छ। उक्त कारोबारमा सरियाकै स्वामित्वको जग्गा खरिद गरिएको र त्यसबापत भुक्तानी भएको रकम पारिवारिक सदस्यमार्फत अन्ततः सुलभ अग्रवालसम्म पुगेको भन्ने विषय सार्वजनिक भएपछि नेपाल बीमा प्राधिकरणले समेत त्यसबारे अनुसन्धान अघि बढाएको थियो।

सरिया, सुलभ अग्रवाल र उनकी आफन्तबीचको आर्थिक कारोबार तथा जग्गा खरिद प्रक्रियाबारे अनुसन्धान भइरहेका बेला उनी लामो समयदेखि फरार रहँदै आएकी थिइन्।

शंकर ग्रुपसँग सम्बन्धित कानुनी कारबाही तीव्र

यसैबीच, शंकर ग्रुपसँग सम्बन्धित अर्को महत्वपूर्ण घटनामा उच्च अदालत पाटनले समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अग्रवाललाई अनुसन्धान तथा न्यायिक प्रक्रियाको सिलसिलामा थुनामै राख्ने आदेश दिएको हो।

यता, उनका जेठा छोरा सुलभ अग्रवाल पनि सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न मुद्दामा हाल थुनामै रहेर कानुनी प्रक्रिया सामना गरिरहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको