सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसपटक भने उच्च दाबी भुक्तानी तथा बीमाशुल्क आम्दानीमा आएको गिरावटले कम्पनीको वित्तीय प्रदर्शनमा ठूलो असर परेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार जेनजी आन्दोलनसँग सम्बन्धित उच्च दाबी भुक्तानीले नाफा घाटामा परिणत हुन प्रमुख भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी यस वर्ष बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
यससँगै कम्पनीको कुल खर्च पनि ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जसले समग्र नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको छ।
नेपाल रिको कुल बीमाशुल्क आम्दानी अघिल्लो वर्षको ७ अर्ब ८३ करोड ५३ लाख रुपैयाँबाट घटेर ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। यो १३.२३ प्रतिशतको गिरावट हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि १८.०१ प्रतिशतले घटेर ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ थियो।
व्यावसायिक आम्दानी र लगानी प्रतिफल दुवैमा आएको कमीका कारण कम्पनीको कुल आम्दानी समेत २२.०५ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ रहेको थियो।
घाटासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँ ऋणात्मक बनेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५.४५ रुपैयाँ धनात्मक थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ घटेर १०९.२० रुपैयाँमा झरेको छ भने रिटेन्ड अर्निङ ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रिटेन्ड अर्निङ ९३ करोड ३७ लाख रुपैयाँ धनात्मक थियो।
कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँमै स्थिर रहेको छ। यद्यपि, कुल सम्पत्ति भने ३५ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ३९ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, **विशेष जगेडा कोष (स्पेसल रिजर्भ)**मा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ७९ करोड २३ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.५५ रुपैयाँ तथा सोल्भेन्सी अनुपात ३.६५ कायम रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १.५ को मापदण्डभन्दा माथि रहेकोले कम्पनीको पूँजी पर्याप्तता अझै सुरक्षित रहेको देखिन्छ।
व्यवस्थापकीय विश्लेषणमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदर, आर्थिक गतिविधिमा आएको सुस्तता तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण लगानी प्रतिफल प्रभावित भएको जनाएको छ।
यस्तो अवस्थामा नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार लगानीलाई विविधीकरण गर्दै वैकल्पिक क्षेत्रमा लगानी विस्तार गर्ने तथा जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने रणनीति कम्पनीले अघि सारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस