Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगार विभागमा कुटिएको भन्दै तारा बरालको हेलमेट पत्रकार सम्मेलन–विभागका प्रमुखले हामीलाई कुटाउन मान्छे बोलाउनुभयो

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, १४ : ३८ मा प्रकाशित

वैदेशिक रोजगार विभागमा कुटिएको भन्दै तारा बरालको हेलमेट पत्रकार सम्मेलन–विभागका प्रमुखले हामीलाई कुटाउन मान्छे बोलाउनुभयो

सामाजिक अभियन्ता तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खानुपरेको बताईन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताईन् । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

मेनपावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनले बताईन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भएपनि पीडितको गुनासो कसैले पनि नसुनेको बताईन् ।

‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यतिधेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताईन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोही नभएको उनले बताईन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाई छ ।

‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँ उजुर हालेको एक महिनासम्म पनि उनीहरुले खोजी गर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ । म केही होइन । म यो खोजी गर्ने कोही पनि होइन । नेपाली जनतामात्रै हो । जनताको अधिकार छैन र पीडितको पीडा खोज्न ? उनले प्रश्न गरिन् ।

आफूले कसैको काम गरिदिएको वापत अहिलेसम्म कसैको एक रुपैयाँ पनि नलिएको उनले बताईन् । कसैसँग पैसा लिएको प्रमाण भए सार्वजनिक गरिदिन पनि उनले चुनौति दिइन् । बाबा मेनपावरका प्रज्ञान न्यौपानेले तारा बरालले पैसा खाएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाईन् ।साथै, वैदेशिक रोजगारका क्रममा देखिने समस्या तत्काल समाधानका लागि उनले सरकारसँग आग्रह गरिन् ।

वैदेशिक रोजगार उद्दार नेपालका अध्यक्ष ईन्द्रलाल गोलेले युवाहरु घरजग्गा बन्धकी राखेर सपना बोकी वैदेशिक रोजगारमा गएपनि सरोकारवाला निकायले प्रवाभकारी समन्वय नगर्दा अहिले जटिल समस्या आइरहेको बताए । साथै, वैदेशिक रोजगारमा जानेहरुले पनि आफू जाने देश, काम, पाउने सुविधा लगायतका कुरा राम्रोसँग बुझेर जानुपर्ने उनले बताए । आफूहरुले पीडितको पक्षमा बोल्दा मेनपावरले गुण्डाको ट्याग लगाएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको