Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण पछि हट्यो नेपाल टेलिकम धरहरा पुनःनिर्माणबाट

शुक्रबार, ०६ असोज २०७४, १५ : ११ मा प्रकाशित

यस कारण पछि हट्यो नेपाल टेलिकम धरहरा पुनःनिर्माणबाट

अर्थ संसार, काठमाडौं– काठमाडौंँ–नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ ।

कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प÷डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा क्षतिग्रस्त बनेको थियो ।टेलिकमले काठमाडौँं÷ललितपुर÷भक्तपुर दरबार स्क्वाएर, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुनःनिर्माण कार्यका लागि आगामी तीन वर्षभित्र रु एक अर्ब योगदान दिने प्रतिबद्धता भने कायमै रहेको पत्रमा उल्लेख गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

“यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरी जवाफ दिने बताएको थियो, दुई साता भन्दा बढी समय बित्दा समेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न पत्राचार गरेको थियो”–उहाँले भन्नुभयो ।

टेलिकमको लिखित जानकारी आएकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरी धरहरा पुनःनिर्माणबारे थप निर्णय गरिने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको