Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता

अर्थ संसार

विहीबार, ११ असार २०८३, १७ : ५९ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जमल स्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पति÷पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन् । सम्झौताअनुसार नेपाल मेडिसिटीले अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ । यद्यपि औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य परीक्षणमा भने उक्त छुट लागू हुने छैन । बीमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू नहुने व्यवस्था गरिएको छ ।

यस सहकार्यअन्तर्गत नेपाल मेडिसिटीले नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा कर्मचारीहरूका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, बेसिक लाइफ सपोर्ट तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । दुवै संस्थाले सेवा प्रवाह, समन्वय तथा सूचना आदानप्रदानका लागि सम्पर्क व्यक्ति तोक्ने तथा प्राप्त सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उक्त सहकार्यबाट चेम्बरका सदस्य, उनीहरूका परिवार तथा व्यवसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा निवारणमुखी स्वास्थ्य सेवाले स्वस्थ व्यवसायिक समुदाय निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो। उनले चेम्बर र मेडिसिटी बीचको साझेदारीले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै अन्य संस्थाका लागि पनि अनुकरणीय उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गरे । 

साथै उनले स्वास्थ्य र आर्थिक विकास एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै स्वस्थ मानव संसाधन नै आर्थिक समृद्धिको आधार रहेको बताए । सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच भएको सहकार्य सम्झौता नयाँ नभई विगतदेखिको सम्बन्धको निरन्तरता भएको बताउँदै सम्झौता कार्यक्रममा बोल्दै उनले चेम्बरका सदस्य तथा व्यवसायीलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

यस किसिमको सहकार्यले संस्थाप्रतिको जिम्मेवारी थप बढाएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायले साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको