नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सेवा विनियमावलीमा महत्त्वपूर्ण संशोधन गर्दै नयाँ मस्यौदा तयार पारेको छ।
उक्त मस्यौदा अनुसार अब बैंकका कर्मचारीहरूले वार्षिक रूपमा पाउने अनिवार्य बिदा सञ्चित (थुपारेर राख्न) गर्न पाउने छैनन्। कर्मचारी सेवासुविधा समितिको सिफारिसमा पूर्ण सुविधासहित कम्तीमा ७ दिन लगातार लिनुपर्ने यो अनिवार्य बिदाको व्यवस्था हाल प्रचलनमा थिएन।
यसैगरी, मस्यौदामा महिला कर्मचारीहरूका लागि मातृत्व संरक्षण बिदामा पनि नयाँ प्रस्ताव गरिएको छ। जसअनुसार सुत्केरी हुनुअघि वा पछि गरी कुल १४ हप्ता पूरा तलबभत्तासहितको बिदा पाइनेछ। यदि सोभन्दा बढी बिदा आवश्यक परेमा अन्य बिदाबाट कट्टी गरिने र अन्य बिदा पनि नभएको खण्डमा विज्ञ चिकित्सकको सिफारिसमा बढीमा १ वर्षसम्म बेतलबी बिदा दिन सकिने व्यवस्था थप गरिएको छ।
यस्तै, क्रिया बिदाको दायरालाई पनि मस्यौदाले फराकिलो बनाएको छ। हाल आमा, बुबा, श्रीमान, श्रीमती र छोराछोरीको मृत्यु हुँदा १५ दिन क्रिया बिदा पाउने व्यवस्था रहेकोमा, अब कर्मचारीको सासु-ससुराको मृत्यु भएमा वा कुल धर्मअनुसार आफ्नो श्रीमान/श्रीमती किरिया बसेको अवस्थामा समेत सम्बन्धित कर्मचारीले पूरा तलबभत्तासहितको क्रिया बिदा पाउने प्रस्ताव गरिएको छ।
बिदामा बसेका कर्मचारीलाई पनि राहात
नेपाल राष्ट्र बैंकले तयार पारेको संशोधित मस्यौदामा विवाह बिदामा बस्ने बैंक कर्मचारीहरूका लागि ठूलो राहतको प्रस्ताव गरिएको छ।
हालको व्यवस्था अनुसार विवाह बिदामा बसेका कर्मचारीलाई समेत बैंकले आवश्यकता अनुसार बीचमै काममा बोलाउन सक्ने प्रावधान रहेकोमा, नयाँ मस्यौदामा त्यसलाई हटाइएको छ। अब क्रिया बिदा, मातृत्व तथा प्रसूति स्याहार बिदा, अनिवार्य घर बिदा, बिरामी बिदा र विवाह बिदामा बसेका कर्मचारीहरूलाई बैंकले बीचैमा बोलाएर काममा लगाउन पाउने छैन। यी बाहेक अन्य बिदामा बसेका कर्मचारीलाई भने आवश्यकता अनुसार काममा बोलाउन सकिनेछ।
यदि अन्य बिदामा बसेका कर्मचारीलाई बिदाको अवधि नसकिँदै बीचमै काममा बोलाइएमा, उनीहरूको बाँकी रहेको बिदा सञ्चित (सेभ) हुनेछ। साथै, यसरी बिदाको समयमा काम गरेबापत कर्मचारीलाई सट्टा बिदा वा सो दिनको तलबभत्ता बराबरको रकम उपलब्ध गराइने प्रस्ताव समेत मस्यौदामा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस