नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन् । गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन ।
मिर्मिरे लघुवित्तले होटल सारथी , धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउसो १२ः३० बजे सभा गर्न लागेको हो भने नेरुडे लघुवित्तले उद्योग संगठन मोरङको सभाहल विराटनगरमा विहान ११ बजे सभा गर्न लागेको हो ।
मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रे जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्ज हुन लागेका हुन् ।
विशेष साधारण सभा मार्फत मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन् । विशेष साधारण सभाका लागि दुबै कम्पनीले वैशाख ३ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा वैशाख २ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ७३ करोड २० लाख कायम भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट साविकको चुक्तापूँजी रू। ६० करोडको आधारमा २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गत माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ ।
त्यस्तै मिर्मिरे लघुवित्तको चुक्तापूँजी पनि हाल रू। ६५ करोड ३३ लाख ८२ हजार कायम भएको छ । मिर्मिरे लघुवित्तले गत वर्षको मुनाफाबाट साविकको चुक्तापूँजी रू। ५३ करोड १२ लाख ५ हजारको आधारमा २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत पुस ३० गते सम्पन्न साधारण सभाबाट पारित गरेको हो । मिर्मिरेको बोनस समेत सूचीकृत हुन बाँकी छ ।
दुबै कम्पनी समान हैसियतमा मर्जरमा जान लागेकाले एकिकृत कारोबारपछि चुक्तापूँजी रू। १ अर्ब ३८ करोड ५३ लाख ८२ हजार कायम हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस