अर्थ संसार, काठमडौं– काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ ।
नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वनचरीमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ । अब कामपाको फोहर संकलन गर्ने स्थान नुवाकोटको वनचरे नै हो ।
केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन ।
आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहर फाल्न सहमति गरेको थियो ।
फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ ।
अबको केही समयमा नै कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ ।
कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पार्नुभयो ।
कामपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस