Like us!
Follow us!
Connect us!
Watch us!

वाम एकताको आकार ठूलो हुँदै , तेत्तिस दलीय मोर्चा पनि वाम एकतामा

विहीबार, १९ असोज २०७४, १५ : १० मा प्रकाशित

वाम एकताको आकार ठूलो हुँदै , तेत्तिस दलीय मोर्चा पनि वाम एकतामा

अर्थ संसार, काठमाडौँ–साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णयगरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो ।

मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गर्नुभएको छ ।

यस्तै संसद्मा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसद्मा एक/एक सदस्य छन् ।

उता नेकपा (संयुक्त)ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिनुभयो । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको