अर्थ संसार, काठमाडौं– नेपाल र भारतको सीमामा बग्ने महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वातावरण विज्ञहरूको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेर विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो ।
परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञहरू टोलीको अध्ययन–अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो ।
अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।
स्थानीयको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरूको सुझाव संकलन गरेको हो ।
आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिम रूप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वतावरण विज्ञ अजयभक्त माथेमाले बताए । “एक्सपर्ट टोलीबाट लामो समयपछिको अध्ययनपश्चात यो योजनालाई अन्तिम रूप दिने तयारी गरेको छौं,’ उनले भने ।
जलाशाय क्षेत्रमा २२ हजारभन्दा बढी विस्थापित हुने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँध स्थल क्षेत्रमा ठूलो र वातावरणीय तथा समाजिक असर पर्नसक्ने उल्लेख गरिएको छ ।
विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब ९ सय ९४ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा पर्ने, भौतिक संरचना निर्माणको क्रममा बनजंगल नष्ट भइ भूक्षय, भूअस्थिरता र वन्यजन्तु र जडीबुटीको विनास हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औंल्याइएको छ ।
जलाशायको निर्माणले करिव २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ नागरिक स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका समाजिक विज्ञ शिव ढकालले बताए । “बाँध निर्माणको क्रममा हजारौ नागरिकले रोजगारी पाउनेछन्,” वातावरण विज्ञ अजयभक्त माथेमाले भने, “बाँध निर्माणका लागि ८ हजार बढी कर्मचारीको अवश्यकता औंल्याइएको छ ।”
यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ भने आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ । जलाशाय निर्माण पश्चात पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्य उत्पादनमा वृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भइ नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिवी निवारणमा टेवा पुग्ने विज्ञहरूको भनाइ छ ।
“जलाशायबाट माछा पालनको ठूलो सम्भावना छ,” कृषिविज्ञ गोपीकृष्ण सेढार्इंले भने, “पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ ।” कारोबारबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस