अर्थ संसार, धादिङ–धादिङमा भएको बस दुर्घटनापछि सिंगो सप्तरी शोकमा डुबेको छ । एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । एउटै आमाबुवाका चार छोरीको ज्यान गएको छ ।
दुर्घटनामा परिवारका ६ सदस्यको मृत्यु र दुई बेपत्ता भएको खबर पाएपछि सञ्जित झाको शोकमग्न परिवार
एकै परिवारका ६ को मृत्यु, दुई बेपत्ता
तिलाठीका रमानाथ झाले आफ्ना दुई छोरा, एक बुहारी, दुई नातिसहित परिवारका आठ सदस्य गुमाए । तिहार–छठ सकेर काठमाडौं फर्कने क्रममा उनका ३८ वर्षीय जेठो छोरा सञ्जित, ३५ वर्षीया बुहारी सिम्मी, ३३ वर्षीय कान्छो छोरा अञ्जित र १० वर्षीय नाति अभिनवको दुर्घटनामा मृत्यु भएको छ ।
सञ्जितकी ७४ वर्षीया जेठीसासू चन्द्रवती झा र १९ वर्षीय सालो आदित्यको पनि दुर्घटनामा मृत्यु भएको छ । सञ्जितकी २२ वर्षीया साली पूजा र चार वर्षीय कान्छो छोरा प्रतीक बेपत्ता छन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । घटना थाहा पाएदेखि उनकी आमा अर्धमुर्छित छिन् ।
चतुरनारायणले गुमाए चार छोरी
बोदेबर्साइन नगरपालिका–३ फुलहारनिवासी चतुरनारायण प्रमाणीले सो दुर्घटनामा चार छोरी गुमाएका छन् । पेसाले शिक्षक उनी काभ्रे बस्दै आएका थिए । आफू र श्रीमती मोटरसाइकलमा जाने भएकाले प्रमाणीले शुक्रबार महदेवा गाउँपालिका–९ का प्रमोद इसरसँगै चारै छोरीलाई काठमाडौँ पठाएका थिए । तर, शनिबारको दुर्घटनामा उनका चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको मृत्यु भयो ।
त्यस्तै, कृष्णश्रवरण गाउँपालिका–४ का योगेन्द्र यादवले २९ वर्षीया श्रीमती सुधिरा र पाँच वर्षीया छोरी समीक्षा गुमाएका छन् । बोदेबर्साइन नगरपालिकाका आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव र मानवी यादव एकै परिवारको रहेको बताइएको छ ।
मृतक परिवारको घरमा बलेन चुलो
दुर्घटनाको खबर आउनसाथ तिलाठी, फुलहारा, बर्साइनसहितका स्थानमा रुवाबासी चलेको थियो । मृतकका परिवारमा चुलो बल्न सकेको छैन । राजविराजबाट छुटेको सन्देश बस हेटौँडामा बिग्रेपछि काठमाडौंबाट आउँदै गरेको सोही कम्पनीको अर्को बसमा यात्रु साटासाट गरी फर्केका थिए ।
काठमाडौंबाट आएको बसले हेटौँडामा राजविराजका यात्रुका साथै अलि अगाडि अन्य यात्रुलाई छतमाथि समेत राखेको घाइतेहरूको भनाइ छ । मृतकहरूको सनाखत भइरहेको र पोस्टमार्टमपछि आइतबार धादिङबाट शव सप्तरी ल्याइने तिलाठीका देवनारायण यादवले बताए । दुर्घटनामा सप्तरीमा धेरै मानवीय क्षति भएको भन्दै नौवटै नगरपालिका र नौवटै गाउँपालिका बन्द गर्ने निर्णयसमेत भएको छ । नयाँपत्रिका
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस