Like us!
Follow us!
Connect us!
Watch us!

पुवाखोला–१ जलविद्युत् आयोजनाको परीक्षण , असोज ६ बाट नियमित विद्युत उत्पादन

सोमबार, २७ कार्तिक २०७४, ०७ : ३१ मा प्रकाशित

पुवाखोला–१ जलविद्युत् आयोजनाको परीक्षण , असोज ६ बाट नियमित विद्युत उत्पादन

अर्थ संसार,इलाम - पुवाखोला–१ जलविद्युत् आयोजनाबाट परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको छ ।

इलाम नगरपालिकाको तोरीबारी  र देउमाइनगरको  शान्तिडाँडाबीच पर्ने पुवाखोलामा निर्माण भएको सो विद्युत् आयोजनाको क्षमता ४ मेगावाट रहेको छ ।

सो आयोजनाबाट परीक्षणका रूपमा असोज ६ गतेदेखि नै नियमित विद्युत् उत्पादन भइरहेको आयोजनाका प्लाण्ट मेनेजर रमाकान्त देवले जानकारी दिए ।

तर, आयोजनाको निर्माणमा भएको प्राविधिक त्रुटिका कारण अहिले २ दशमलव २ मेगावाट विद्युत्मात्र उत्पादन गरिरहेको बताइएको छ । आयोजनाका दुई टर्वाइनमध्ये एउटामात्र सञ्चालनमा रहेको र अर्को युनिटमा समस्या रहेको देवले बताए ।

अर्को टर्वाइनको म्याग्नेटिक क्वाइल बिग्रेको उनले जानकारी दिए । साथै परीक्षणका क्रममा ४० मिटर पाइप लाइनसमेत कुचिएर फेर्नु परेको छ ।

पानी नगएर इण्टेकबाट हावा छिरेपछि पाइप लाइन बिगे्रकाले फेरेर सञ्चालन गरिएको छ । उक्त आयोजनाको बालनगाउँ बेंशीस्थित विद्युत्गृहबाट उत्पादित विद्युत् काबेली कोरिडोरअन्तर्गतको गोदक सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । सो आयोजनाको लागत रू. ७२ करोड भएको बताइएको छ ।

आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सकिएको प्रोजेक्ट मेनेजर उत्तम थापाले जानकारी दिए । इण्टेक, विद्युत्गृह र अन्य केही स्थानको निर्माण कार्य केही भने बाँकी नै छन् ।

आयोजनाले परीक्षण उत्पादन गर्न शुरू गरे पनि हाल खोलामा पानी घट्न शुरू भएको बताएको छ । आयोजना रन अफ दि रिभर भएकाले हिउँद याममा विद्युत् उत्पादन क्षमताभन्दा करीब आधामात्र हुने गर्छ ।

पुवाखोलाको पानीलाई शान्तिडाँडा बेंशीमा इण्टेक निर्माण गरी लामो पाइप लाइनबाट विद्युत्गृहसम्म र्पुयाइएको छ । १ सय ८ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत्गृहमा विद्युत् उत्पादन गरिएको छ ।

विद्युत् पावरहाउसदेखि उत्पादित विद्युत्लाई गोदकको सबस्टेशनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्न साढे ६ किलोमिटर प्रसारण लाइनसमेत निर्माण भइसकेकोे छ ।

२०७३ पुसमा नै निर्माण पूरा गर्ने लक्ष्य रहेकोमा जग्गा विवाद र प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण गत असोजमा मात्र निर्माण पूरा भएको आयोजनाको भनाइ छ ।

पुवाखोला–१ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा निर्माण भएको सो आयोजनाका लागि सिद्धार्थ बैङ्क र सिटिजन्स बैङ्कले लगानी गरेका छन् ।

यो आयोजना निर्माण भएसँगै जिल्लामा निर्माण भई विद्युत् उत्पादन गरिरहेका विद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ ।

इलाम जिल्लाबाट हाल ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा योगदान रहेको काबेली कोरिडोर प्रसारण लाइन आयोजनाका पूर्ण चौहानले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणअन्तर्गत एक, सानिमामाइ हाइड्रोअन्तर्गत दुई, अपरमाईअन्तर्गत दुई,  हिमाल दोलखा एक, जोशी हाइड्रोको एक आयोजना निर्माण भइसकेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको