Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको हट एअर बेलुन कम्पनी 'इन्टरनेसनल बेलुन फियस्ता'मा सहभागी

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, १९ : ५८ मा प्रकाशित

पोखराको हट एअर बेलुन कम्पनी 'इन्टरनेसनल बेलुन फियस्ता'मा सहभागी

हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न 'इन्टरनेसनल बेलुन फियस्ता २०२४' मा सहभागीता जनाएको छ ।

गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् । 

कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन  उडाइएको थियो । जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो ।  

कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए । 

आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागीता जनाएको कम्पनीका निर्देशक ढकालले जानकारी दिए ।

कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित 'नेपाली नाइट' आयोजना गरिएको थियो । सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए ।

'मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,' निर्देशक ढकालले भने,'नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो ।'

उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । उनले भने,'धेरैमा बुद्ध इण्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं ।'

उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए । उनले भने,'यहाँ गरिएका बेलुन ग्लो कार्यक्रमले हाम्रो ध्यान खिचेको छ, छिट्टै नेपालमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने सोचमा छौं ।'

निर्देशक ढकालले सम्भवत: नेपालबाट इन्टरनेसनल बेलुन फेस्टिभलमा नेपाली कम्पनी सहभागी भएको यो पहिलो पटक भएको बताए ।  

थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए ।

65d3623a643ac.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको