Like us!
Follow us!
Connect us!
Watch us!

साउनमा मेहेन्दी र हरियो चुरा फेसन कि संस्कृति ?

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १० : १२ मा प्रकाशित

साउनमा मेहेन्दी र हरियो चुरा फेसन कि संस्कृति ?

अन्य समयमा खासै महत्व नदिनेहरु पनि साउनमा विशेष महत्व दिएर हरियो पहिरन, चुरा र मेहन्दी लगाउन चासो देखाउँछन् । 
साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास सँगै फेसनका रूपमा लिन सकिन्छ । 

हिन्दू मान्यताअनुसार नेपाली समाजमा विवाहित महिलाले साउनमा हरियो पोतेसँगै हरियो चुरा लगाउनुपर्ने प्रचलन रहेको दाबी केही महिलाको छ । उनीहरुको तर्क छ– अन्य समयमा इच्छाअनुसारको रंगको चुरा लगाए पनि साउनमा हरियो चुरा नै लगाउनुपर्छ । तर, पछिल्लो समय यो चलन फेसन हो वा परम्परा भन्ने विषयमा बहस चलेको छ ।

संस्कृतविद् राजेन्द्रकुमार आचार्यले भने धेरै नेपालीलाई आफ्नो संस्कृति छाडेर अरुको देखासिकी गर्ने गलत प्रवृत्तिले समस्यामा पारेको बताएका छन् । उनका अनुसार साउनमा हरियो चुरा र मेहन्दी नेपालीको संस्कार होइन । उनले फेसनलाई अँगाल्दै जाँदा मौलिकता ओझेलमा पर्नसक्ने पनी बताए । आचार्यका अनुसार साउनमा लुतो फाल्ने चलन थियो । तर, आजकल कसैले गरेको देखिँदैन । आजकलका युवाहरू फेसनमा बढी आकर्षित हुन थालेकाले मौलिक पहिचान मेटिँदै जाने सम्भावना देखिएको उनको भनाई छ  ।

महिलाले चुरा लगाउनुलाई विवाहिता भएको संकेत दिएतापनी नयाँ पुस्तालाई न चुराको इतिहाससँग मतलब छ । न यो संस्कृतिको बारे । उनीहरुले चुरा लगाउनुलाई फेसनको रुपमा ग्रहण गर्न थालेका छन् । विवाहिताहरुले प्रायः रातो चुरा र पोते लगाउने चलन भए पनि साउन महिनामा हरियो चुरा र साडी लगाएर सोमबार शिवको व्रत बस्छन् । विवाहिता महिला आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै साउनको सोमबार व्रत बस्ने धार्मिक विश्वास छ । 

साउन महिना सुरु भएयता हातभरि विभिन्न आकृतिको मेहेन्दी । दुवै हातमा हरियो चुरा । संस्कृति धान्ने चलन होस् वा फेसनको बहाना । सबैले नाडीभरि चुरा र हातभरि मेहेन्दी लगाएको देखेपछि नलगाउनेहरुले पनि अरुको सिको गर्दै चुरा र मेहेन्दी लगाउन थालेका छन् ।


विवाहिता महिलाले मात्र लगाउँदै आएको चुरा अविवाहिताले समेत लगाउन थालेपछि चुरा व्यापारीलाई त यसै फाइदै छ । अन्य समय सुनसान हुने कस्मेटिक पसलमा साउन महिना सुरु भएसँगै किनमेल गर्नेको भिडभाड हुने गर्छ । अचेल साउन महिनालाई परम्परासँगै फेसनका रूपमा समेत लिने गरिएको छ । कतिपयले परम्परादेखि मान्दै आएको चलनलाई निरन्तता दिँदै आएका छन् भने कतिले देखावटी रमाइलोका लागि साउनलाई हेर्ने गरेका छन् । हरियो महिना मानिने साउनमा यस्तै वस्तुहरुको राम्रो व्यापार हुने व्यापारीहरु बताउँछन् । उनीहरुका अनुसार साउनमा अन्य श्रृंगारका सामग्रीमा हरियो चुरा नै निकै बिक्ने गर्छ ।

संस्कृतविद् आर्चायका अनुसार हरियो रङ प्रकृति र वातावरणसँग सम्बन्धित भने पक्कै छ । तर, धार्मिक रुपले हरियो सारी र चुरा साउनमा लगाउने भन्ने कहीं उल्लेख छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको